कास्कीको मादी गाउँपालिका–११ मा भगवति मन्दिरमा माघेसंक्रान्तिको अबसरमा लाग्ने मेलाको तयारी तीब्र पारिएको छ।
बरालडाडा भगबतिबजार माघेसंक्रान्ति मेलाका लागि आबश्यक तयारी तीब्र गतिमा गरिएको आयोजक बरालडाडा तमु समाज सेवा समितिका अध्यक्ष चुमप्रसाद गुरुङले जानकारी दिएका छन्।
मेलाको अबसरमा माघ १ गतेदेखि वडास्तरीय भलिवल प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता, भजन चुड्का प्रतियोगिता तथा बिबिध सास्कृतिक कार्यक्रमहरुको आयोजना गरिदैँछ।
मेलामा राष्ट्रिय कलाकार लोकगायक चिज गुरुङ, निर्जला गुरुङ, जीवन दाहाल, मधु थापामगरलागायतको उपस्थिति रहने आयोजक बरालडाँडा युवा क्लवले जानकारी दिएको छ।
प्रतियोगितामा भलिवलतर्फ प्रथम पुरस्कार १ लाख तथा द्वितिय पुरस्कार ६० हजार तथा छेलो च्याम्पियनलाई २० हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले बताएको छ।
कास्की जिल्लाको मादी गाउँपालिकास्थित मादी नदिका किनारमा अबस्थित भगबति मन्दिर परिसरमा यो मेला पौराणिककालदेखि लाग्दै आएको छ।
बिशेषगरी, उक्त दिन मादी नदिमा स्नान गरी भगवति मन्दिरको अराधना गर्ने, उपवास बस्ने प्रचलन छ।
उक्त क्षेत्रलगायत कास्की, लमजुङ र तनहुँका दर्शनार्थीहरुले सो क्षेत्रको भगवति देवीलाई बिशेष महत्वका साथ लिने गर्दछन्।