पोखराको गोगन माविको ५७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कार्यक्रमको उद्घाटन गरे

जनसम्मत
पौष २५, २०८१, बिहीवार

पोखरा महानगरपालिका–३२ स्थित गोगन माध्यमिक विद्यालयले आज (बिहीबार) आफ्नो ५७ औं वार्षिकोत्सव मनाएको छ।

साथै, विद्यालयले अभिभावक दिवस एवं पुरस्कार वितरणसमेत गरेको छ।

कार्यक्रमको आज विद्यालयमा आयोजित विशेष समारोहबीच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे।

कार्यक्रममा महानगर प्रमुख आचार्यले गुणस्तरीय शिक्षाका लागि विद्यालयले निरन्तर मिहिनेत गरिरहेको बताए।

विद्यालयले आगामी दिनमा अझै उत्कृष्ट बन्ने गरी शैक्षिक उन्नयनमा लाग्न प्रमुख आचार्यले आग्रह गरे।

‘सरकारले विद्यालय शिक्षालाई निशुल्क र अनिवार्य भनेपनि त्यसको व्यवहारिक रुपमा कार्यान्वयन हुन नसकेको छैन। अब, आउने नयाँ शिक्षा ऐनबाट विद्यमान समस्याहरू समाधान हुनेछ’, प्रमुख आचार्यले प्रष्ट पारे।

उनले पोखरामा पूर्वाधार विकास लगायतका क्षेत्रमा ठूलो लगानीमा विभिन्न परियोजनाहरू अघि बढेको उल्लेख गरे।

‘यी सम्पन्न भएसँगै महानगरवासीले अनुुभूति हुनेगरी परिणाम प्राप्त हुन्छ’, उनले औंल्याए।

गोगन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति मेघराज पौडेलले विभिन्न आरोह–अवरोहका साथ विद्यालय बर्तमान अवस्थासम्म आइपुुगेको उल्लेख गरे।

विद्यालयले शैक्षिक गुणस्तरीयतालाई निरन्तर रुपमा जोड दिदै आएको उनको भनाई थियो।

‘विद्यालयमा राज्यका १६ वटा मात्र दरबन्दी रहेकोमा हाल ७७ जना शिक्षकहरूबाट अध्यापन गराइएको छ। सीमिति साधन स्रोतबीच शैक्षिक गतिविधि संचालन गर्न कठिनाई भैरहेको छ। विद्यालयमा यस वर्षदेखि होटेल व्यवस्थापनका कक्षा पनि संचालन गरिरहेको छ’, अध्यक्ष पौडेलले सुनाए।

विद्यालयका प्रधानाध्यापक मोहनराज बरालले विद्यालयको भौतिक एवं शैक्षिक प्रतिवेदनबारे जानकारी गराए।

कार्यक्रममा विभिन्न तह र विषयमा अध्यापनरत शिक्षकहरू अर्जुनप्रसाद बास्तोला, कालीप्रसाद भुर्तेल, प्रकाश खड्का, रामहरि बराल, लिलमाया गुरुङ, सुनिता गुरुङ, सुरेन्द्र लामिछानेलाई सम्मान गरिएको थियो।

उक्त अवसरमा कर दिवसका अवसरमा राष्ट्रियस्तरमा आयोजित खुल्ला प्रतियोगितामा प्रथम हुने छात्रा दिप्ती थापा, विभिन्न कक्षामा उत्कृष्ट छात्रछात्रालाई पुरस्कत गरिएको थियो।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड पोखरा कार्यालयका प्रमुख गोविन्दराज पोख्रेल, पोखरा महानगरपालिकाका शिक्षा अधिकृत बद्रीनाथ सुवेदी, भूतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष किसान परियार, विद्यार्थी दीपिन सुवेदीलगायतले बोलेका थिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेलको सभापतित्वमा भएको कार्यक्रमलाई शिक्षक अभिभावक संघका अध्यक्ष सञ्जय गुरुङले धन्यवादसहित समापन गरेका थिए।

शिक्षकद्वय गीता थापा र विनोद भण्डारीले कार्यक्रम संचालन गरेका थिए।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न उत्कृष्ट सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरेका थिए।