माछापुच्छ्रे अध्यक्ष कप भलिबल प्रतियोगिता फागुनमा

पुरुषतर्फको बिजेताले २ लाख र महिलातर्फको विजेताले १ लाख नगद पुरस्कार पाउनेछन्

जनसम्मत
पौष २४, २०८१, बुधबार

कास्कीको पर्यटकीय गाउँ धम्पुसमा माछापुच्छ्रे अध्यक्ष कप भलिबल प्रतियोगिता हुँदैछ।

कास्कीको माछापुच्छे गाउँपालिका को खेलकुद विकास समितिले तेस्रो संस्करणको गण्डकी प्रदेश अन्तरपालिकास्तरीय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता–२०८१ गर्ने भएको हो।

माछापुच्छ्रे–७, धम्पुसमा फागुन १४ देखि १७ गतेसम्म पुरुष भलिबल प्रतियोगिता चल्नेछ।

खेलकुदमा युवाहरुलाई आकर्षित गर्ने र खेलकुदकै माध्यमबाट पालिकालाई चिनाउने उद्देश्श्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले बताएका छन्।

प्रतियोगिताको बिजेताले उपाधिसँगै २ लाख र उपविजेताले १ लाख नगद साथमा ट्रफी पुरस्कार पाउनेछन्।

सेमिफाइनलमा पराजित २ समुहले समान ५०÷५० हजार रुपैयाँ पाउनेछन्।

पुरुष भलिबल खेलमा पालिका बाहिरका जुनसुकै तह वा स्तरका २ जना खेलाडी टिममा समावेश गर्न सकिने जनाइएको छ।

यता, खुल्ला महिला भलिबलतर्फ विजेताले उपाधिसँगै १ लाख र उपविजेताले ५० हजार नगद साथमा ट्रफी पुरस्कार पाउनेछन्।
सेमिफाइनलिस्ट २ टोलीले समान २५÷२५ हजार नगद पाउनेछ।

महिला भलिबलतर्फ एक समुहमा २ जनासम्म राष्ट्रिय खेलाडी समावेश गराउन पाइनेछ।

पुरुष तथा महिला भलिबल प्रतियोगिताको विधागततर्फ बेस्ट प्लेयर, कोच, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सर्भरलाई पालिकाको लोगो अंकित खेलकुद पोषाक प्रदान गरिने उपाध्यक्ष सिता अधिकारीले बताइन्।

प्रतियोगितामा सहभागी हुन फागुन १२ गते दिनको ठिक ३ बजेसम्म टिम दर्ता गरिसक्नु पर्ने समयसीमा तोकिएको गाउँपालिका खेलकुद विकास समिति सदस्य सचिव हुमबहादुर गुरुङले बताए।

टिम दर्ताका लागि निशुल्क व्यवस्था गरिएको छ।

फागुन १४ गते विहान ठिक ८ः०० बजे प्रतियोगिताको उद्घाटन खेल सुरु हुने जनाइएको छ।