कला र फोटोग्राफीमा प्रतिलिपि अधिकार कति ?

‘प्रतिलिपि अधिकार विषयमा विद्यालय स्तरबाट नै सचेतना दिनु आवश्यक छ’

जनसम्मत
पौष २६, २०८१, शुक्रबार

‘कला र फोटोग्राफीमा प्रतिलिपि अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार राजधानीमा सम्पन्न भएको छ।

राष्ट्रिय फोटो पत्रकार समूह नेपाल र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा अन्तरक्रिया गरिएको थियो।

कार्यक्रममा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले प्रतिलिपि अधिकार कलाकार र पत्रकारमाझको बौद्धिकताभित्र देखिएको साझा समस्या भएको औंल्याए।

लामाले भने, ‘यस विषयमा सरोकारवालाहरूले चासो राखी अध्ययन गरेर विद्यमान समस्यालाई ऐनमा सम्बोधन हुनेगरी काम गर्नुपर्छ।’

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रतिलिपि अधिकार ऐनमा कला फोटोग्राफीलगायतका विविध विषय छुटेको उल्लेख गरे।

‘संस्थागत रूपमा यस विषयमाथि आवाज उठाएर कानुनमा समेटिनुपर्छ’, थुम्केलीको सुझाव थियो।

राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारले अब आफ्नो अधिकारका विषयमा आवाज उठाउनु आवश्यक रहेको औंल्याए।

‘सर्जकले फोटो पत्रकार र प्रतिलिपि अधिकारका विषयलाई समग्रमा हेर्नुपर्छ’, वन्तले जोड दिए।

नेपाल पत्रकार महासंघ, एसोसियट प्रदेश समिति अध्यक्ष रोयल आचार्यले जटिल विषयमा छलफल गरेर मात्र नभई घनीभूत छलफल गर्नुपर्ने औल्याए।

‘संसदीय समिति तथा सम्बन्धित मन्त्रीसँग पनि छलफल गर्नुपर्छ’, उनले सुझाव दिए।

नेपाल प्रतिलिपि अधिकार राजिस्ट्रारको कार्यालयका प्रतिनिधि शालिकराम खतिवडाले प्रतिलिपि अधिकार ऐन बन्ने प्रक्रियामा रहेको हुँदा सरोकारवालाहरूबाट लिखित र मौखिक सुझाव दिन आग्रह गरे।

कार्यक्रमका सभाध्यक्ष सौरगांगा दर्शनधारीले प्रतिलिपि अधिकार विषयमा विद्यालय स्तरबाट नै सचेतना दिनु आवश्यक रहेको बताए।
उनले भने, ‘यस विषयमा गहन छलफल गरेर निष्कर्षमा पुग्नुपर्छ।’

कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी र विभिन्न संचारमाध्यमसँग आबद्ध फोटो पत्रकारसँगै विभिन्न कलाकार तथा संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।