लेखनाथ महोत्सवमा शनिबार हालसम्मकै सर्वाधिक कारोबार

महोत्सवमा हालसम्म ५ करोड ८५ लाखको कारोबार भएको छ

जनसम्मत
पौष २७, २०८१, शनिबार

२० औं संस्करणको लेखनाथ महोत्सवमा शनिबार हालसम्मकै सर्वाधिक कारोबार भएको छ।

महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले महोत्सवमा शनिबारसम्म आइपुग्दा ५ करोड ८५ लाखको कारोबार भएको बताएका छन्।

श्रेष्ठले भने, ‘शनिबार बिदाको दिन समेत परेको र समापनको मिति पनि नजिकिदै गर्दा किनमेल गर्ने दर्शकहरुको संख्यामा पनि उल्लेख्य वृद्धि भएको हो। जसले गर्दा कारोबारमा पनि उल्लेख्य वृद्धि भएको छ। महोत्सवमा हालसम्म ५ करोड ८५ लाख वरावरको आर्थिक कारोबार भएको छ।’

महोत्सवको १० औं दिन शनिबार मात्रै अहिलेसम्मकै सर्वाधिक १ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।

यसैगरी, महोत्सवको हालसम्म १ लाख ९० हजार दर्शकहरुले अवलोकन गरेका छन्।

शनिबार मात्रै ४० हजार दर्शकले महोत्सवको अवलोकन गरेको लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव एवंं प्रचार–प्रसार उप समितिकी संयोजक जानुका अधिकारी पराजुलीले जानकारी दिइन्।

शनिबार दिउँसो महोत्सवस्थलमा दर्शहरुको अत्याधिक चाप वढेपछि आपतकालीन गेट खुला गरी दर्शकहरुलाई सहज रुपमा आवागमनको व्यवस्था मिलाइएको थियो।

स्थानीय क्षेत्रका विद्यालयहरुमा परीक्षा सकेर जाडो विदा पनि भएका कारण बालबालिकासहित अभिभावकहरुको उपस्थितिले दर्शकहरुको उल्लेख्य वृद्धि भएको हो।

महोत्सव सकिन अव ३ दिन मात्र वाँकी रहेको र एक पटक महोत्सव जानैपर्ने मान्यता स्थापित भएकले पनि महोत्सवको पछिल्ला दिनहरुमा दर्शक र कारोवारमा बृद्धि हुने अपेक्षा गरिएको छ।

हालको शिथिल अर्थतन्त्रको अवस्थामा पनि महोत्सवमा देखिएको दर्शकहरुको उपस्थिति र कारोबारले आफूहरुलाई उत्साहित बनाएको र यसले महोत्सवको लक्ष्यभन्दा पनि वढि दर्शक र कारोबार हुनेमा विश्वस्त छौं’, संघका वरिष्ठ उपाध्यक्ष एवं महोत्सवका सह–संयोजक राजेन्द्र ओझाले वताए।

शनिबार लोकदोहोरी कलाकारहरु सुप्रिम मल्ल, आशा बिसी, कृष्ण अखेली, रमा राना, जीवन दाहाल, शिवहरी ढुंगानालगायतले प्रस्तुति राखेका थिए।

बेलुका राजु लामाको लाईभ व्याण्ड मंगोलियन हर्टको प्रस्तुतिले स्टेज तताएको थियो।

महोत्सवमा आइतबार लोकदोहोरी कलाकारहरु खुमन अधिकारी, प्रिति आले, विक्रम परियार, सुनितामी परियार, सुमन खड्का र मञ्जु वि.क.लगायतका कलाकारहरुले प्रस्तुति राख्नेछन्।

बेलुका लाईभ कन्सर्टमा भाष्करध्वज श्रेष्ठको डी–मर्चा व्याण्डको प्रस्तुति रहने कलाकार ब्यवस्थापन उप–समितिका संयोजक उपेन्द्रराज सुवेदी (राजु)ले जानकारी दिएका छन्।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा महोत्सव चलेको हो।

उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश महोत्सवको सह–आयोजक रहेका छन्।

पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड महोत्सवको प्रवद्र्धक रहेका छन्।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने मुल नाराका साथ पुस १८ गतेबाट लेखनाथ महोत्सव सुरु भएको हो।