२० औं संस्करणको लेखनाथ महोत्सव भेटघाटको थलोसमेत बनेको छ।
वर्षेनी आयोजना हुने महोत्सवमा विभिन्न जिल्लाबाट महोत्सव हेर्न आउने गरेका कारण आफन्त र साथीभाईको लामो अन्तरालमा भेटघाटसमेत हुने गरेको छ।
पोखरा–३२ निवासी भरत ओझाले महोत्सवस्थल पुरानो साथीभाई भेट्ने स्थलसमेत बनेको बताए।
ओझाले भने, ‘कति साथी यहाँ भेटेर अचम्म लाग्यो। १४ वर्षपछि मैले पुरानो साथी योगेन्द्र गुरुङलाई भेट्न पाएँ।
यसरी, अचम्म पर्नेमा ओझा मात्र होइन थुप्रै दर्शकहरु छन्।
पोखरा–२७ का कृष्ण रानाभाटले ४८ सालमा भेटेका आफनो आत्मीय साथी कृष्ण ठकुरीले अहिले महोत्सवमै भेटे।
अन्य दर्शकहरुसमेत स्कुल पढ्दाका साथी र टाढाका आफन्त भेटेर खुसी व्यक्त गरिरहेका छन्।
नयाँपन खोज्नका लागि लेखनाथ महोत्सव आउने दर्शकले बालापनको साथी भेट्ने रहरसमेत राख्ने गर्छन्।
पुरानो सम्बन्धमा रमाउन पाउँदा दर्शक निकै खुसी भएको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले बताए।
उनले भने, ’यो महोत्सव खाली महोत्सवका लागि मात्र नभएर आत्मीयता र भेटघाटको थलो पनि बनेको छ।’
महोत्सवमा चर्चित दोहरी कलाकारबाट दोहोरी प्रस्तुति, हाँस्यव्यंग्य कलाकारबाट हाँस्य प्रस्तुति, पप कलाकारबाट पप कन्र्सट साथमा मोडर्न डान्समा दर्शकहरू रमाइलो लिएका छन्।
शनिबार दोहोरीतर्फ बाल कलाकार सुप्रिम मल्ल ठकुरी, आशा बिसी, जीवन दाहाल, शिवहरी ढुंगाना, कृष्ण अखेली, रमा राना, माया केसीलगायतको प्रस्तुत रहनेछ।
बेलुका लाईभ कन्सर्टमा राजु लामा (मंगोलियन हर्ट) को प्रस्तुती रहने कलाकार व्यवस्थापन समितिका संयोजक उपेन्द्रराज सुवेदी (राजु) ले जानकारी दिएका छन्।
महोत्सवमा शुक्रबार २७ हजार दर्शकले अवलोकन गरेका छन्।
त्यसैगरी, ७५ लाख बराबरको कारोबार भएको महोत्सव प्रचार–प्रसार संयोजक जानुका अधिकारी पराजुलीले जानकारी दिइन्।
हालसम्म १ लाख ५० हजार दर्शकले महोत्सवको अवलोकन गरेका छन्।
त्यसैगरी, महोत्सवबाट ४ करोड ५० लाखको कारोबार भएको छ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघले महोत्सवको संयुक्त आयोजना गरेको हो।
उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश महोत्सवको सह–आयोजक रहेका छन्।
पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड प्रवद्र्धक रहेका छन्।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने मूल नाराका साथ पुस १८ गतेबाट लेखनाथ महोत्सव सुरु भएको हो।