आहा ! रारा पोखरा गोल्डकपको सह–प्रायोजकमा जयश्री फुड्स प्रालि

१२ टिमको प्रतिस्पर्धा रहने प्रतियोगितामा हालसम्म १० टिमको टुंगो लागेको छ

जनसम्मत
पौष २७, २०८१, शनिबार

२४ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप–२०८१ सँग चितवनको जयश्री फुड्स प्रालि सह–प्रायोजकरुपमा जोडिएको छ।

सो सम्बन्धमा क्लब अध्यक्ष केशवराज बराल र कम्पनीका तर्फबाट जनरल म्यानेजर अमीत अग्रवालबीच शनिबार सम्झौता–पत्रमा हस्ताक्षर भएको छ।

चितवनको जयश्री फुड्स प्रालिको उत्पादन बासमती प्रिमियम राइसले सह–प्रायोजकवापत ५ लाख रुपैयाँ प्रदान गर्नेछ।

सो अवसरमा अग्रवालले सहारा क्लब पोखराद्वारा संचालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीको सहयोगार्थ संचालित फुटबल प्रतियोगितामा पनि सहकार्य गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरेका छन्।

उनले आगामी संस्करणमा पनि एकेडेमीका बालकहरुको निम्ति यस्तै सहयोगको निरन्तरता दिने वचन दिएका छन्।

आगामी माघ २२ देखि फागुन ३ गतेसम्म सहारा क्लबले पोखरा रंगशालामा आयोजना गर्ने प्रतियोगिताको तयारी तीव्र पारेको छ।

हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउ प्रतियोगिताको मुख्य प्रायोजक हो।

१२ टिमको प्रतिस्पर्धा रहने प्रतियोगितामा हालसम्म १० टिमको टुंगो लागेको छ।

जसमा आयोजक सहारा क्लब पोखरासहित विभागीय क्लबहरु त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्रको एपीएफ क्लब, थ्रि स्टार क्लब, मछिन्द्र एफसी, संकटा क्लब, चर्च ब्वाइज युनाइटेड, एनआरटी क्लब, ब्रिगेड ब्याइज फुटबल क्लब युके प्रतियोगिताका लागि अनुबन्ध भइसकेका छन्।