काठमाण्डौको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछानेलाई धरौटीमा रिहा गर्न काठमाण्डौ जिल्ला अदालतले आदेश दिएको छ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा आज (बुधबार) भएको थुनछेक बहसपछि अदालतले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन मुद्दाका सबै प्रतिवादी, उनीहरूका कानूनी प्रतिनिधि र सरकारी वकिल सबैको बहस आज (बुधबार) नै सकिएको थियो।
गोर्खा मिडिया नेटवर्कमा कानून विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४ सय ८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ।
रबिविरुद्ध ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदाबी गरिएको छ।
लामिछाने पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा गएको बिहीवार जिल्ला अदालत कास्कीमा ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।