टाइगर कप भलिबल माघको १२ गतेदेखि सुरु

महिला/पुरुष दुबैतर्फ १/१ विदेशी टोलीसहित उपाधिका लागि १२ टोलीको प्रतिस्पर्धा रहनेछ

जनसम्मत
माघ ४, २०८१, शुक्रबार

पाँचौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिता यही माघ १२ देखि १९ गतेसम्म संचालन हुने भएको छ।

‘टाइगर ग्रुप अफ पोखरा नेपाल’ ले पोखरा रंगशालास्थित भलिबल कोर्टमा प्रतियोगिता आयोजना गर्दैछ।

प्रतियोगितामा महिला र पुरुष गरी कूल १२ टोलीको सहभागिता रहने शुक्रबार काठमाण्डौंमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिएका छन्।

उनका अनुसार पुरुष र महिलातर्फ १/१ विदेशी टोलीसमेत सहभागी हुनेछन्।

प्रतियोगितामा पुरुषतर्फ घरेलु गण्डकी प्रदेश भलिबल संघसहित टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब, विभागीय त्रिभुवन आर्मी क्लब, नेपाल पुसिल क्लब र सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबले प्रतिस्पर्धा गर्नेछ।

विदेशी टोलीमा भारतको कुरुक्षेत्रको सुनील भलिबल क्लब अमीनले प्रतिस्पर्धा गर्नेछ।

त्यसैगरी, महिलातर्फ घरेलु टाइगर ग्रुप अफ पोखरासहित विभागीय त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, टिपटप न्यू डायमण्ड युथ स्पोर्टस क्लब र विदेशी टोली थाइल्याण्डको ट्राभल इन्क्वायरी युनाइटेट प्यासन भलिबल क्लबले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।

प्रतियोगितामा पुरुष र महिलातर्फका दुवै विजेता टोलीले उपाधिसहित समान ५ लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ नगद पुरस्कार पाउनेछ।

उपविजेताले २ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार पाउनेछ।

प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले १ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार पाउनेछ।

प्रतियोगिताका सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीले जनही २५/२५ हजार ७ सय ७७ रुपैयाँ नगद पुरस्कार पाउनेछन्।

त्यसैगरी, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट प्रशिक्षक (पुरुष/महिला) ले जनही  १० हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार पाउनेछन्।