खो–खो विश्वकपमा नेपालको दुबै टोली उपविजेता

फाइनलमा आयोजक भारतसँग नेपालको पुरुष टोली ५४–३६ र महिला टोली ७८–४० ले पराजित

जनसम्मत
माघ ७, २०८१, सोमबार

नेपालको महिला/पुरुष दुबै टोली खो–खो विश्वकपमा उपविजेता बनेको छ।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा आइतबार भएको खो–खो विश्वकपको फाइनलमा नेपालको महिला/पुरुष दुबै टोलीले आयोजक भारतसँग पराजित बन्दै उपविजेतामा समेटियो।

फाइनल प्रतिस्पर्धामा आयोजक भारतसँग नेपालको पुरुष टोली ५४–३६ र महिला टोली ७८–४० ले पराजित बन्दै उपविजेता बन्यो।

फाइनलमा नेपाल घरेलु टोली भारतसँग ५४–३६ ले पराजित बन्यो।

नेपाल समूह ‘ए’ को उपविजेता बन्दै क्‍वाटरफाइनल पुगेको थियो।

यसैगरी, नेपालले क्‍वार्टरफाइनलमा बंगलादेशलाई ६७–१८ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो।

यस्तै, नेपालले इरानविरुद्ध ७२–२० को जित दर्ता गर्दै फाइनलमा स्थान बनाएको थियो।

समूह चरणमा भारतसँग ४२–३७ ले पराजित भएको नेपालले त्यसपछिका खेलहरुमा पेरुलाई ८०–३४, ब्राजिललाई १३४–८ र भुटानलाई ९८–८ अंकले हराएको थियो।

यसअघि, नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा आज (आइतबार) नै भएको महिलातर्फको फाइनल प्रतिस्पर्धामा नेपाली महिला टोली आयोजक भारतसँग ७८–४० ले पराजित बन्दै उपविजेतामा समेटियो।

नेपाली महिला टोलीले खेलेको सबै खेलमा अपराजित रहँदै उपाधि नजिकै पुगेको थियो।

नेपाली महिला टोलीले सेमिफाइनलमा युगान्डालाई ८९–१८ को फरक अंकले हराउँदै उपाधिका लागि आयोजक भारतसँगको भेट पक्का गरेको थियो।

त्यसैगरी, क्वाटरफाइनलमा इरानलाई १०३–८ को शान्दार जित निकाल्दै अन्तिम ४ मा स्थान बनाएको थियो।

यस्तै, नेपाली महिला टोलीले समूह चरणको पहिलो खेलमा भुटानलाई ९३–२४ ले सहजै पराजित गरेको थियो।

दोस्रो खेलमा जर्मनीमाथि ७३–३४ ले जित निकालेको थियो।

तेस्रो खेलमा श्रीलंकालाई ११०–१० को फरक अन्तरले पराजित गरेको थियो।

चौथो खेलमा बंगलादेशमाथि पनि ७४–२४ को शान्दार जित निकालेको थियो।