नेपाल उद्योग वाणिज्य महासङ्घले सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको प्रयोग अनिवार्य गर्ने नेपाल सरकारको निर्णय कार्यान्वयनका लागि सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघ तथा आफ्ना सदस्यहरूलाई आग्रह गरेको छ।
सरकारको निर्णयबाट स्वदेशी उत्पादन प्रवर्द्धन गर्न निकै सहयोग पुग्नेमा महासंघले विश्वास गरेको छ।
महासंघले आफ्ना सबै सदस्यहरुमा संभव भएसम्म नेपाली उत्पादनको प्रयोग र प्रवर्द्धन गर्न आग्रह गरेको छ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मन्त्रिपरिषदबाट ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने निर्देशिका २०८१’ पारित हुनु स्वागतयोग्य रहेको र अब त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताएका छन्।
सरकारको यो निर्णयले स्वदेशी उत्पादन प्रवर्द्धन गर्न निकै सहयोग पुग्ने अध्यक्ष ढकालको दाबी छ।
स्वदेशी वस्तुको उत्पादन, रोजगारी सिर्जना, आयात व्यवस्थापन तथा उत्पादित वस्तुको बजार प्रवर्द्धन गर्न र सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगलाई थप प्रभावकारी बनाउन सरकारले निर्देशिका ल्याएको हो।
सरकारले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ६८ ले दिएको अधिकार प्रयोग गरी स्थानीयस्तरमा उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ।