रुपन्देही जिल्ला अदालतमा पनि रवि लामिछानेविरुद्ध मुद्दा दायर

सुप्रिम सहकारी ठगी प्रकरणमा रविसहित ४२ जनाविरुद्ध मुद्दा दायर

जनसम्मत
माघ ६, २०८१, आइतबार

बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरेको छ ।

मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा सरकारी वकिल कार्यालयले आज (आइतबार) मुद्दा दायर गरेको हो।

रवि लामिछानेसहित यो सहकारी ठगी प्रकरणमा ४२ जना प्रतिवादी पुगेका छन्।

लामिछानेविरुद्ध मात्रै व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरेर ४ करोड रुपैयाँभन्दा बढी बिगो माग दाबी गर्दै मुद्दा दायर भएको छ।

सुप्रिम सहकारीको रकम अपचलनबारे प्रहरीले बुझाएको यो दोस्रो पूरक अनुसन्धान हो।

यसअघि, रवि गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा ३ वैशाखमा अदालतमा दर्ता भएको थियो।

जसमा १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो।

अहिले भने थप १४ जनालाई प्रतिवादी बनाइएको छ।