तनहुँको बन्दीपुरमा छैठौँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

प्रतियोगितामा ९ सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका छन्

जनसम्मत
माघ ५, २०८१, शनिबार

तनहुँको बन्दीपुर गाउँपालिकामा अन्तरविद्यालयस्तरीय छैठौँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।

बन्दीपुर गाउँपालिका–४ स्थित टुँडिखेलमा सुरु प्रतियोगितामा गाउँपालिकाभित्रका ९ वटा माध्यमिक विद्यालयहरूले सहभागिता जनाएका छन्।

३ दिनसम्म चल्ने प्रतियोगितामा छात्रछात्रा भलिबल, एथलेटिक्सलगायतका खेलहरुमा विभिन्न विद्यालयहरुका विद्यार्थीहरूबीच प्रतिस्पर्धा हुनेछ।

गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख भीम लामिछानेका अनुसार प्रतियोगितामा विजेताले १५ हजार रुपैयाँसहित च्याम्पियन रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ।

त्यसैगरी, दोस्रो हुने विद्यालयले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ।

यस्तै, तेस्रो हुने विद्यालयले ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ।

प्रतियोगिताको उद्घाटन दिन (शनिबार) छात्रहरूको पहिलो चरणको भलिबल खेल‌ सम्पन्न भएका छन्।

छात्रतर्फको भलिबलमा भानु मावि, अरुण मावि, नोट्रेडेम स्कूल र कालिका माविले जित निकालेका छन्।

भानु माविले शिव माविलाई, अरुण माविले विष्णु माविलाई, नोट्रेडेम स्कूलले मनास्लु बोर्डिङ स्कूललाई हराउँदै अर्को चरणमा स्थान बनाएको छ।

त्यसैगरी, छात्रातर्फ १०० मिटर, २०० मिटर र ४०० मिटरको दौड सम्पन्न भएका छन्।

यसैगरी, ४१०० मिटरको रिले दौड, सर्टपुट र ज्याबलिङ थ्रोलगायतका खेलहरु सम्पन्न भएका छन्।

छात्रातर्फको १०० मिटरको दौडमा मनास्लु बोर्डिङ स्कुल प्रथम भएको छ।

शिव माध्यमिक विद्यालय दोस्रो र भानु माध्यमिक विद्यालय तेस्रो भएको छ।

२०० मिटरतर्फको छात्रा दौडमा पवित्रा माध्यमिक विद्यालय प्रथम भएको छ।

शिव माध्यमिक विद्यालय दोस्रो र भानु माध्यमिक विद्यालय तेस्रो भएको छ।

छात्रातर्फकै ४०० मिटरको दौडमा भानु माध्यमिक विद्यालय प्रथम भएको छ।

यस्तै, शिव माध्यमिक विद्यालय दोस्रो र अरुण माध्यमिक विद्यालय तेस्रो भएको छ।

यसैगरी ४१०० मिटरको रिलेमा शिव माध्यमिक विद्यालय प्रथम, मनास्लु इङ्लिस बोर्डिङ स्कुल दोस्रो र विष्णु मावि तेस्रो भएको छ।

सर्टपुटतर्फ मनास्लु इङ्लिस बोर्डिङ स्कूल प्रथम, पवित्रा माध्यमिक विद्यालय दोस्रो र शिव माध्यमिक विद्यालय तेस्रो बनेको छ।

यस्तै, ज्याबलिङ थ्रोतर्फ पवित्रा माध्यमिक विद्यालय प्रथम, भानु माध्यमिक विद्यालय दोस्रो र शिव माध्यमिक विद्यालय तेस्रो बनेको छ।

पहिलो दिनको खेलमा पवित्रा माविले २ स्वर्ण, १ रजत र २ काँस्य पदक जितेको छ।

मनास्लुले २ स्वर्ण र १ रजत पदक जितेको छ।

शिव माविले ३ रजत, २ कास्य पदक जितेको छ।

विष्णु मावि र अरुण मावि समान १/१ कास्य पदकमा समेटिएका छन्।

बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले प्रतियोगिताको उद्घाटन गरेका हुन्।