आइसीसी यु–१९ को महिला टी–२० विश्वकप क्रिकेटमा लगातार तेस्रो हार ब्यहोर्दै नेपाल प्रतियोगिताबाटै बाहिरिएको छ।
विश्वकपको तेस्रो खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको हो।
मलेसियाको बांगीस्थित युकेएम क्रिकेट मैदानमा अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर ५६ रनमात्र बनाउन सक्यो।
नेपालकी कप्तान पूजा महतोले सर्बाधिक १८ रन बनाइन्।
नेपालका अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।
अस्ट्रेलियाकी हसरत गिल, जुलिटी मोर्टन र लिली बेसिंगथवाइटले २÷२ विकेट लिए।
यसअघि, टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएको थियो।
अस्ट्रेलियाकी काओइम्हे ब्रेले सर्बाधिक ४५ रन बनाइन्।
नेपालकी कप्तान पूजा महतोले ३ विकेट लिइन्।
त्यसैगरी, सीमाना केसीले २ विकेट लिइन्।
रिया शर्माले १ विकेट लिइन्।
प्रतियोगितामा नेपालको यो लगातार तेस्रो हार हो।
नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ विकेट पराजित बन्यो।
दोस्रो खेलमा स्कटल्यान्डसँग १ विकेटले पराजित भएको थियो।
नेपाल रहेको समूह ’डी’ बाट अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड ’सुपर–सिक्स’ मा पुगेका छन्।
नेपालले पहिलो पटक आइसीसी यु–१९ को महिला टी–२० विश्वकप खेलेको हो।
प्रतियोगितामा १६ वटा टोलीलाई ४ वटा समूहमा विभाजन गरिएको छ।
हरेक समूहका शीर्ष ३ टोली ’सुपर–सिक्स’ मा पुग्नेछन्।
आइसीसी यु–१९ को महिला टी–२० विश्वकपको फाइनल खेल माघ २० गते हुनेछ।