गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले शुक्लागण्डकीका २ महत्वपूर्ण निर्माणाधीन योजनाको अनुगमन गरेका छन्।
मन्त्री केसीले लामो समयदेखि निर्माणमा ढिलाई भएको प्रदेशको ‘एक निर्वाचन क्षेत्र, एक रणनितिक सडक’ अन्तर्गत दुलेगौंडा–हर्कपुर मोटरमार्ग र वडा नंं ५ र ८ जोड्ने सेती नदिमाथि निर्मित मोटरेबल पुलको बुधवार अनुगमन गरेका हुन्।
सो अवसरमा मन्त्री केसीले निर्माण व्यवसायीका कारण ढिलाई भएका ती योजनाहरुलाई काममा गति दिन निर्माण व्यवसायीलाई समेत निर्देशन दिए।
गण्डकी प्रदेशका पूर्व आर्थिक मामिलामन्त्री किरण गुरुङ, मन्त्रालयका सचिव कमलकुमार अधिकारीसहित पुगेका केसीले सरकारको तर्फबाट कुनै समस्या भए सहजीकरण गर्न तयार रहेको जनाए।
तत्काल कामदार बढाएर प्रगति बढाउन मन्त्री केसीले आग्रह गरे।
वि.स. २०५२ सालमा ट्रयाक खोलिएको दुलेगौडा–हर्कपुर सडक १०.१८ किलोमिटर सडक कालोपत्रका लागि विसं २०७६ कार्तिक ४ गते सम्झौता भई २०७६ साल मंसीर २४ गते शिलान्यास गरिएको थियो।
२०७८ माघ १० गतेभित्र सम्पन्न हुनुपर्ने सडक पटक–पटक म्याद थप गरिएको छ।
आगामी असारसम्म म्याद रहेको उक्त खण्डको प्रगति हालसम्म ४१ प्रतिशत रहेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख रवीन्द्र तिवारीले बताए।
उक्त सडकखण्ड कालोपत्रका लागि एमएस शंकरमाली निर्माण सेवाले २५ करोड १० लाख ६० हजार रुपैयाँमा सम्पन्न गर्नेगरी सम्झौता गरेको हो।
शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिकासँग जोडिने उक्त खण्डको दूरी २३ किलोमिटर छ।
पहिलो चरणमा १० किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको हो।
ट्रयाक खुलेको २४ वर्षपछि स्तरोन्नती सुरु हुँदा स्थानीयवासी खुसी थिए।
तर, कामको प्रगति नहुँदा स्थानीवासीले चुनावको बेला मात्र सडकको विषय बनाउने गरेको भन्दै टिप्पणी गर्ने गरेका छन्।
स्थानीय एवं दुलेगौंडा–हर्कपुर मोटरमार्ग उपभोक्ता समितिका पूर्व अध्यक्ष देउबहादुर गुरुङले यस क्षेत्रकै सबैभन्दा पुरानो सडक समयमै सम्पन्न नहँुदा स्थानीय र यात्रुले धुलो र हिलोको मार खेपेको बताए।
चाँडो सम्पन्न गराउन गुरुङले सरोकारवालासँग ध्यानाकर्षण गराए।
निर्माण व्यवसायी श्याम लामाले कोभिडसँगै निर्माण कम्पनीलाई आर्थिक रुपमा नोक्सान परेको प्रतिक्रिया दिए।
आर्थिक समस्याका कारण काम सम्पन्न गर्न समस्या परेको लामाको प्रतिक्रिया थियो।
उनले कामदारको संख्या बढाएर छिट्टै सम्पन्न गर्ने प्रतिवद्धता समेत जनाए।
यसैगरी, शुक्लागण्डकी–५ र ८ स्थित बेलचौतारा–मुस्ताङ क्याम्प जोड्ने मोटरेबल पुलको कामले गति नलिएको भन्दै उपभोक्ता समितिले मन्त्री केसीको ध्यानाकर्षण गराए।
सुरुको सम्पन्न गर्नुपर्ने मिति गत वर्षको जेठ २० गते सकिएकोमा २०८२ मंसीर २० सम्म म्याद थप भएको छ।
कामको प्रगति करिव ३० प्रतिशत मात्र भएको छ।
२०७७ मंसीर २४ मा मूल्य अभिवृद्धिसहित १५ करोड ५९ लाख रुपैयाँमा पुल निर्माणका लागि महावीर खिम्ती अञ्जना पराजुली जेभीले सम्झौता गरेको हो।
टायल फाउण्डेसनमा निर्माण हुने पुल १ सय ५०.४ मिटर लामो रहनेछ।
४ वटा स्पानमध्य हाल एक स्पान मात्र ढलान भएको छ।
निर्माण कम्पनीलाई हालसम्म ८ करोड १३ लाख भुक्तानी भइसकेको छ।
पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख तिवारीले कार्यालयको तर्फबाट काम गर्न कुनै समस्या नरहेको प्रष्ट पारे।
उनका अनुसार वडा नंं. ८ तर्फ ३ वटासम्म स्पान थप भएमा ४०.२५ प्रतिशत अर्थात ६ करोड २७ लाख रुपैया बजेट थप गर्नुपर्ने देखिएको छ।
स्थानीय बाबुराम कार्कीले पुल निर्माणको कामले गति नलिदाँ वडा नं. ८ तर्फ कटान बढ्दै गएको उल्लेख गरे।
स्थानीयस्तरबाट निर्माण व्यवसायीलाई सबै सहयोग गर्दै आएपनि कामले गति लिन नसकेको उनको जिकिर छ।
मन्त्री केसीले मन्त्रालयअन्तर्गतका लामो समयसम्म सम्पन्न नभएका समस्याग्रत योजनालाई आफूले चाडै सम्पन्न गर्नतर्फ केन्द्रीत गरेको औंल्याए।
समयमै विकास निर्माणका योजना सम्पन्न नहुदा जनताले दुःख पाउने गरेको उनले बताए।
सुरु भएका योजनालाई आर्थिक अभाव हुन नदिने उनले प्रतिवद्धता जनाएका छन्।