टाइगर कप भलिबलः समय अभावका कारण खेल १ दिन लम्बियो

भोलि, बिहीबार महिलातर्फ एलिमिनेटर र पुरुषतर्फ लिग चरणका खेल हुने

जनसम्मत
माघ १६, २०८१, बुधबार

पाँचौं संस्करणको एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत बिहीबार पुरुषतर्फ २ र महिलातर्फ १ खेल हुनेछन्।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहीबार यसअघि स्थगित भएका पुरुषतर्फ लिग चरणका २ खेल र महिलातर्फ एलिमिनेटर खेल हुनेछन्।

पहिलो खेल महिलातर्फको खेल बिहान ९ बजेबाट सुरु हुनेछ।

उक्त खेल विभागीय नेपाल पुलिस क्लब र टिपटप न्यु–डायमण्डबीच हुने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिएका छन्।

उक्त खेलको विजेताले विभागीय एपीएफ र आयोजक टाइगर ग्रुपकामे टोलीमध्ये पराजित हुने टोलीसँग फाइलन प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्नेछ।

पराजित हुने टोली भने प्रतियोगिताबाटै बाहिरिनेछ।

भोलिको दोस्रो र तेस्रो खेल पुरुषतर्फको हुनेछ।

बिहान ११ बजेबाट विभागीय त्रिभुवन आर्मी क्लब र भारतको सुनिल भलिबल क्लबबीच हुने खेल तालिका छ।

उक्त खेल समय अभावका कारण बुधबार स्थगित भएको थियो।

यस खेलले क्वालिफायर खेल्ने र एलिमिनेटर खेल्ने टोलीको टुंगो लगाउनेछ।

भोलिको तेस्रो खेल घरेलु गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबबीच हुनेछ।

उक्त खेल दिउँसो १ बजे सुरु हुनेछ।

उक्त खेलको विजेताले एलिमिनेटर खेल्नेछ।

दुवै खेल समय अभावका लागि पछि सरेसँगै प्रतियोगिता १ दिन लम्बिएको हो।

यसअघि, १९ गतेसम्म तय गरिएको उक्त प्रतियोगिता २० गतेसम्म चल्ने प्रतियोगिता संयोजक ज्ञवालीले जानकारी दिएका छन्।