पोखरामा जारी पाँचौं संस्करणको एनसेल टाइगर कप भलिबलमा महिलातर्फ ट्राभल इन्क्वायरी प्यासन भलिबल क्लब थाइल्यान्डले सान्त्वना जीत निकालेको छ।
पोखरा रंगशालामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत बुधबार बिहान भएको खेलमा ट्राभल इन्क्वायरीले आफ्नो अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटले पराजित गरेको हो।
दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन्।
प्रतियोगितामा ट्राभल इन्क्वायरीले एकमात्र जीत निकाल्यो।
आर्मी भने जीतविहीन रहँदै प्रतियोगिता टुंग्यायो।
पहिलो सेट र दोस्रो सेट समान १८–२५ ले ट्राभल इन्क्वायरीलाई सुम्पिएको आर्मीले तेस्रो सेटमा पुनरागमन गर्दै २६–२४ ले जीत हासिल गरेको थियो।
आर्मी चौथो सेटमा पुनः १९–२५ ले पराजित हुँदै खेल ट्राभल इन्क्वायरीलाई सुम्प्यो।
प्रतियोगिताअन्तर्गत अब महिलातर्फ पहिलो क्वालिफायर खेल्ने टुंगो लागेका विभागीय सशस्त्र प्रहरी बल एपीएफ र आयोजक टाइगर ग्रुप पोखराबीच हुुनेछ।
यो खेलले ‘जित्ने समूह’ को विजेता र उपविजेताको भने टुंगो लगाउनेछ।
उक्त समूहबाट तेस्रो हुँदै पुलिस एलिमिनेटरमा प्रवेश गरिसकेको छ।