विभागीय सशस्त्र प्रहरी बल, एपीएफले पोखरामा जारी पाँचौं संस्करणको एनसेल टाइगर कप भलिबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ।
विभागीय एपीएफले आयोजक टाइगर ग्रुपलाई पराजित गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो।
पोखरा रंगशालामा शुक्रबार बिहान भएको खेलमा आयोजक टोलीलाई ३–१ ले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन एपीएफ फाइनलमा स्थान सुरक्षित गरेको हो।
एपीएफले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो।
त्यस्तै, दोस्रो सेट २१–२५ ले टाइगर ग्रुपलाई सुम्पेको थियो।
एपीएफले तेस्रो सेट २५–१९ ले जीत निकालेको थियो।
चौथो सेटमा २६–२४ ले कठिन जीत निकाल्दै एपीएफले फाइलन यात्रा तय गरेको हो।
खेलको टाइगर अफ द म्याच निरुता ठगुन्ना र स्पाइकर अफ द म्याच सरस्वती चौधरी बनिन्।
पराजित भएको आयोजक टाइगर ग्रुपले शनिबार फाइलन प्रवेशका लागि टिपटप न्यु– डायमण्ड स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
अब, पुरुषतर्फको पहिलो क्वालिफायरको खेल हुनेछ।
उक्त खेल त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ।
आर्मी समूह चरणमा शीर्ष र पुलिस दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान पक्का गरेका थिए।
आजको तेस्रो खेल पुरुषतर्फको एलिमिनेटर हुनेछ।
एलिमिनेटरमा गण्डकी प्रदेश र भारतको सुनिल भलिबल क्लब प्रतिस्पर्धा गर्नेछन्।
एलिमिनेटरको विजेताले पुुलिस र आर्मीबीचको पराजित हुने टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ।