अहिले हरेक स्वास्थ्य संस्थापिच्छे बिरामीको एकै खालका परीक्षण दोहोरिने गरेको तथा एकीकृत तथ्यांक नहुँदा उपचारमा कठिनाइ हुने गरेको छ।
साथै, हाल अस्पतालहरुमा विद्युतीय प्रणाली लागु भएपनि एक-अर्काबीच तथ्यांक आदान–प्रदान गर्ने खालका छैनन्।
अब, एक ठाउँमा भएको बिरामीको परीक्षणसम्बन्धी सबै जानकारी विद्युतीय रूपमा सबै स्वास्थ्य संस्थाले प्राप्त गर्नेगरी एकीकृत प्रणाली लागु गर्ने निर्णय गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसहितको बैठकले सो निर्णय गरेको हो।
यो समस्या समाधानको लागि मन्त्री पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियन्त्रणमा रहने एकीकृत राष्ट्रिय प्रणालीमा सबै स्वास्थ्य संस्थाका अभिलेख प्राप्त गर्ने व्यवस्था मिलाउने निर्णय गरेका छन्।
सरकारी तथा निजी सबै स्वास्थ्य संस्थाहरुले अब विद्युतीय चिकित्सा अभिलेख प्रणाली २०८१ अन्तर्गत एक-अर्कासँग बिरामीका तथ्यांक तथा विवरण साझा गर्न मिल्नेगरी विकसित प्रणालीमा अभिलेख राख्नुपर्नेछ।
यसले बिरामीको खर्च, समय तथा परीक्षणमा हुने दोहोरोपनाको अन्त्य हुने मन्त्री पौडेलको सचिवालयले जनाएको छ।
यस्तै अर्को पटक सेवा लिन अस्पताल जाँदा पनि विरामीले पहिलेको रिपोर्टहरु लैजान नपर्ने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिएका छन्।