त्रिदेशीय महिला टी–२० श्रृंखलामा नेपालको लगातार दोस्रो हार

थाइल्यान्डसँग नेपाल ४ विकेटले पराजित

जनसम्मत
माघ १९, २०८१, शनिबार

त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ।

त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपाल थाइल्यान्डसँग ४ विकेटले पराजित भएको हो।

नेपालले दिएको १०२ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले ६ बलअघि नै ६ विकेट गुमाएर भेट्टायो।

थाइल्यान्डकी नान्नापट कोन्चारेनकाईले नटआउट सर्वाधिक ६० रन बनाइन्।

नेपालकी मनिषा उपाध्यायले २ विकेट लिइन्।

यसअघि, टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १०१ रन बनायो।

नेपालका विन्दु रावल र कविता कुँवरले समान २५÷२५ रन बनाए।

थाइल्यान्डकी थिपचा पुत्थावोङले ३ विकेट लिइन्।

त्रिदेशीय श्रृंखलामा नेपालको यो लगातार दोस्रो हार हो।

नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो।

थाइल्यान्डको भने यो लगातार दोस्रो जीत हो।

थाइल्यान्डले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८ विकेटले हराएको थियो।

प्रतियोगितामा भोलि (आइतबार) नेपाल र नेदरल्यान्ड्सबीच खेल हुनेछ।

लिग चरणमा शीर्ष रहने टोलीले उपाधि जित्नेछ।