त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपालले लगातार तेस्रो हार ब्यहोरेको छ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको आफ्नो तेस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको हो।
नेदरल्यान्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १२५ रनमात्र बनाउन सक्यो।
नेपालकी कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन बनाइन्।
सम्झना खड्काले २३ रन बनाइन्।
नेदरल्यान्ड्सकी आइरिस ज्विलिङ र क्यारोलिन डी लाङ्गेले समान २/२ विकेट लिए।
यसअघि, टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनायो।
नेदरल्यान्ड्सकी कप्तान बबेते डी लीडेले सर्वाधिक ४१ रन बनाइन्।
नेपालकी सीता रानामगरले ५ विकेट लिइन्।
श्रृंखलामा नेपालको यो लगातार तेस्रो हार हो।
नेपालले आफ्नो पहिलो (उद्घाटन) खेलमा नेदरल्यान्ड्ससँग ४ विकेटले हारेको थियो।
त्यस्तै, हिँजो (शनिबार) नेपालले थाइल्यान्डसँग २० रनले पराजित भएको थियो।
प्रतियोगितामा भोलि ( सोमबार) नेदरल्यान्ड्स र थाइल्यान्डबीच खेल हुनेछ।
लिग चरणमा शीर्ष रहने टोलीले उपाधि जित्नेछ।