पोखरामा आज (मंगलबार) देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता सुरु भएको छ।
पोखरा रंगशालास्थित फुटबल मैदानमा सञ्चालन भएको प्रतियोगिता आगामी फागुन ३ गतेसम्म संचालन हुनेछ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १–० गोलले हराउँदै विभागीय नेपाल पुलिस क्लबले क्वाटरफाइनलमा स्थान बनाएको छ।
पुलिसका उज्वल राईले खेलको ३६ औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो।
राईले कर्नरमा प्राप्त भएको बललाई सदुपयोग गर्दै गोल गर्न सफल भए।
पुलिससँगको हारपछि आयोजक सहारा आफ्नो पहिलो खेलबाटै बाहिरिएको छ।
यसअघि, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रतियोगिताको उद्घाटन गरेका थिए।
सो अवसरमा उनले प्रतियोगिताले अन्तर्राष्ट्रियस्तरमा नै छाप छोड्न सफल रहेको बताए।
पर्यटनको शहर राजधानीलाई खेलकुदको माध्यमबाट चिनाउन अहम भूमिका खेलेको बताए।
प्रतियोगिता उद्घाटनका अवसरमा सहारा क्लब पोखराले प्रदान गरिने यस वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान नेपाली टोलीका रक्षक सनिष श्रेष्ठ सम्मानीत भएका छन्।
महानगर प्रमुख अचार्यले ५० हजार ५ सय ५ रुपैयाँ नगद र सम्मानपत्रबाट फुटबलर श्रेष्ठलाई सम्मान गरे।
तनहुँको पुर्कोटका जन्मिएका सनिष विगत ७ वर्षदेखि राष्ट्रिय टोलीमा रहेर फुटबल खेल्दै आएका छन्।
नेपाली फुटबल क्षेत्रमा उत्कृष्ट योगदान दिएवापत क्लबले बर्सेनि एक जना राष्ट्रियस्तरको फुटबल खेलाडीलाई पुरस्कृत गर्दै आएको छ।
चौविसौँ संस्करणको आहा ! रारा पोखरा गोल्डकपमा नेपाली र ३ विदेशी गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
राजधानी बाहिरको प्रतिष्ठित प्रतियोगितामा आयोजक सहारा, विभागीय त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ, थ्री स्टार क्लब, मच्छिन्द्र फुटबल क्लब, संकटा क्लब, एन आरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब सहभागी छन्।
विदेशी टिममा थन्डर्स बोल्ट नर्थ इण्डिया, ब्ल्याक बुल्स एफसी उज्बेकिस्तान र ब्रिटिस ब्रिगेड ब्वाइज क्लबले प्रतिस्पर्धा गर्नेछन्।