मोतिसागर अधिकारी, प्रेस चौतारी कास्कीको पुनः अध्यक्ष

गणेशमान गुरुङलाई सम्मान र पौडेललाई प्रेस चौतारी पुरस्कार

जनसम्मत
माघ २३, २०८१, बुधबार

प्रेस चौतारी नेपाल कास्की शाखाको अध्यक्षमा पुनः मोतिसागर अधिकारी सर्वसम्मत चयन भएका छन्।

प्रेस चौतारी, कास्कीको २७ औं स्थापना दिवसको अवसरमा मंगलबार भएको शाखाको नवौं अधिवेशनबाट अधिकारीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो।

यसअघि, संगठनको कार्यवाहक अध्यक्ष रहेका अधिकारीले अध्यक्षको जिम्मेवारी सर्वसम्मत प्राप्त गरेका हुन्।

समितिको उपाध्यक्षमा गिरिधारी पोखरेल, उपाध्यक्ष (महिला) मा रोजी श्रेष्ठ, सचिवमा अनुप पौडेल, सह–सचिवमा दीपक अधिकारी, सह–सचिव (समावेशी) मा सुरेश सुनार र कोषाध्यक्षमा सन्दीप खनाल सर्वसम्मत निर्वाचित भएका छन्।

सञ्जय थापा, सुजन पौडेल, रचित पौडेल, आशिष पुरी, बिनिता राना, मदनमणि तिमिल्सिना, काशिनाथ कुमाल र मनिषा लामिछाने सदस्य चयन भएका छन्।

२ सदस्य कार्यसमिति बैठकबाट पछि मनोनित गरिने नवनिर्वाचित अध्यक्ष अधिकारीले जानकारी दिएका छन्।

अधिवेशनबाट प्रदेश र केन्द्रीय प्रतिनिधिसमेत चयन गरिएको छ।

प्रदेश प्रतिनिधिमा राजु गिरी, बालकुमारी पौडेल (तारा), अर्जुन गाहा (सुशान्त), रेजिना कटुवाल, शिशिर पौडेल र सुरेश रानाभाट चयन भएका छन्।

केन्द्रीय प्रतिनिधिमा दीपेन्द्र श्रेष्ठ, हरि बास्तोला, ओम हमाल, पुण्य पौडेल, प्रकाश अधिकारी र शान्ति गुरुङलाई चयन गरिएको छ।

 

गणेशमान गुरुङलाई सम्मान र पौडेललाई प्रेस चौतारी पुरस्कार

 

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा २ जनालाई सम्मान र पुरस्कृत गरिएको छ।

प्रेस चौतारी पत्रकारिता सम्मान २०८१’ अग्रज पत्रकार गणेशमान गुरूङलाई अर्पण गरिएको छ।

‘प्रेस चौतारी पत्रकारिता पुरस्कार २०८१’ पत्रकार ईन्द्रप्रसाद पौडेललाई प्रदान गरिएको छ।

पौडेललाई नगद २२ हजार २ सय २२ सहित पुरस्कृत गरिएको हो।

उनीहरूलाई प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष गणेश पाण्डे र राजेश राई, नेकपा (एमाले) कास्कीका नेतासहितले सम्मान–पत्र प्रदान गरेका थिए।

प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष तथा सल्लाहकार शान्ति गुरूङ संयोजक रहेको प्रतिभा छनौट समितिले गुरूङलाई सम्मान र पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको थियो।

सम्मानित व्यक्तित्व गणेशमान गुरूङ २६ वर्षदेखि पत्रकारितामा क्रियाशील छन्।

स्याङ्जा सिरूबारीमा जन्मिएका उनी पोखरा–१५ का स्थायी बासिन्दा हुन्।

गुरूङले २०५५ सालमा पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरू गरेका थिए।

हिमचुली एफएम, गोल्डेन आई टेलिभिजन हुँदै २०६४ देखि सगरमाथा टेलिभिजनमा आबद्ध रही १३ वर्षदेखि समाचार सम्पादक पदमा कार्यरत छन्।

बी.एलसम्म अध्ययन गरेका गुरूङ २०७७ मा ‘प्रबल जनसेवा श्री चतुर्थ’ पदकबाट विभूषित भइसकेका छन्।

पुरस्कृत पत्रकार इन्द्रप्रसाद पौडेल २१ वर्षदेखि पत्रकारितामा निरन्तर सक्रिय छन्।

२०६० सालमा समाधान र पोखरा हटलाइन दैनिकमा संवाददाता र फोटो पत्रकारिता गरेका पौडेल २०६२ सालदेखि कान्तिपुर टेलिभिजनमा आबद्ध छन्।

यस्तै, मैदानन्यूज डटकमको संस्थापक संचालकसमेत हुन्।