त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपालले लगातार पाँचौं हार ब्यहोरेको छ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले नेपाललाई १० विकेटले हरायो।
नेपालले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १९ ओभर ४ बलमा एक विकेट पनि नगुमाई भेट्टायो।
नेदरल्यान्ड्सका स्टेर कालिसले सर्वाधिक ९८ रन बनाइन्।
त्यसैगरी, पेबे मोलकेनबोरले ४८ रन जोडिन्।
यो खेलमा कालिस र मोलकेनबोरले १५१ रनको कीर्तिमानी साझेदारी गरे।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेदरल्यान्ड्सको महिला टोलीले कुनैपनि विकेटका लागि गरेको यो सबैभन्दा ठूलो साझेदारी हो।
यसअघि, सन् २०१९ मा जर्मनीसँगको खेलमा दोस्रो विकेटका लागि १४४ रनको साझेदारी गरेका थिए।
यसअघि, टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रन बनायो।
नेपालकी अलराउन्डर पूजा महतोले अर्धशतक बनाइन्।
पूजाले ५१ बलमा नटआउट ६२ रन जोडिन्।
यस्तै, कप्तान इन्दु बर्माले ३९ रन थपिन्।
रुबिना क्षत्रीले २० रन बनाइन्।
नेदरल्यान्ड्सकी आइरिस ज्विलिङले २ विकेट लिइन्।
नेपालले यसअघिका ४ वटै खेल हारेको छ।
नेपाली महिला टोली नेदरल्यान्ड्स र थाइल्यान्डसँग २÷२ पटक पराजित भएको छ।
थाइल्यान्ड ४ वटै खेल जित्दै ८ अंकसहित तालिकाको शीर्ष स्थानमा छ।
नेदरल्यान्ड्स ५ खेलमा ६ अंकसहित दोस्रो स्थानमा छ।
नेपाल अंकविहीन हुँदै पुछारमा छ।
लिग चरणमा शीर्ष स्थानमा रहने टोलीले श्रृंखलाको उपाधि जित्नेछ।