आहा ! रारा गोल्डकपः एपीएफलाई मच्छिन्द्रले हरायो

क्वार्टरफाइनलमा मच्छिन्द्रले अर्को ‘ए’ डिभिजन टोली थ्रीस्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ

जनसम्मत
माघ २३, २०८१, बुधबार

विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराउँदै मच्छिन्द्र फुटबल क्लब पोखरामा जारी २४ औँ आहा ! रारा गोल्डकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ।

पोखरा रंगशालामा आज (बुधबार) भएको खेलमा मच्छिन्द्रले विभागीय एपीएफ क्लबलाई २–० गोलले हरायो।

मच्छिन्द्रले दुवै गोल दोस्रो हाफमा गरेको थियो।

पहिलो हाफमा कडा टक्कर दिएको एपीएफको गोल गर्न सकेन।

मच्छिन्द्रको जीतमा आदित्य शाक्य र विदेशी खेलाडी स्टेफन कामहाले गोल गरे।

आदित्यले ७४ औँ र स्टेफनले ८१ औँ मिनेटमा गोल गर्दै टोलीलाई सहज जीत दिलाए।

आदित्यले डिबक्समा पाएको बललाई एपीएफका रक्षकलाई छलाएर गोल गरे।

स्टेफनले देवेन्द्र तामाङको फ्री–किकमा प्राप्त बललाई जाली चुमाए।

स्टेफन नै खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए।

एपीएफले केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा हार खेप्यो।

क्वार्टरफाइनलमा मच्छिन्द्रले अर्को ‘ए’ डिभिजन टोली थ्रीस्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

नकआउटका आधारमा संचालित प्रतियोगितामा ३ विदेशीसहित १२ टोलीको प्रतिस्पर्धा गर्दैछन्।

प्रतियोगिताको विजेता टोलीले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछ।