पोखरा विश्वविद्यालयको २० औँ दीक्षान्त समारोहबाट सात हजार ८७२ विद्यार्थी दीक्षित भएका छन्।
पोखरा महानगरपालिका–३० ढुंगेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहबीच विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरूलाई दीक्षित गराएका हुन्।
सो विश्वविद्यालयअन्तर्गतका विभिन्न क्याम्पसबाट स्नातक, स्नातकोत्तर र विद्यावारिधि तह उत्तीर्ण गरको विद्यार्थी दीक्षित भएका हुन्।
पोखरा विश्वविद्यालयअन्तर्गत देशभर संचालित क्याम्पसहरूबाट विभिन्न ६८ विधामा करिब ४० हजार विद्यार्थी अध्ययनरत रहेको सो विश्वविद्यालयले जनाएको छ।
हाल देशभर रहेका विश्वविद्यालयका ४ वटा आंगिक क्याम्पस, ३ वटा संयुक्त आंगिक क्याम्पस तथा ५८ वटा सम्बन्धनप्राप्त कलेजहरूमा ६८ वटा कार्यक्रमहरु संचालनमा छन्।
जसमा हाल करिब ४० हजार विद्यार्थी अध्ययनरत छन्।
पोखरा विश्वविद्यालयले समयानुकूल पाठ्यक्रम परिमार्जन, एकेडेमिक क्यालेन्डरअनुसार तोकिएको मितिमा नै भर्ना, परीक्षा र परीक्षाफल प्रकाशन गर्ने प्रक्रियाले विद्यार्थीहरूको आकर्षण बढाउन सफल भएको विश्वविद्यालयले बताएको छ।
पोखरा विश्वविद्यालयले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत वार्षिक रूपमा १५ सयभन्दा बढी विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ।