४ देशीय महिला क्रिकेटः दोस्रो खेलमा नेपालले घरेलु युगान्डालाई हरायो

रोमाञ्चक खेलमा नेपालले घरेलु युगान्डालाई १ विकेटले हराएको हो

जनसम्मत
फागुन २५, २०८१, आइतबार

४ देशीय वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको आफ्नो दोस्रो खेलमा नेपाल विजयी भएको छ।

नेपालले युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा आइतबार भएको खेलमा घरेलु टोली युगान्डालाई १ विकेटले हराएको हो।

युगान्डाले दिएको ७६ रनको लक्ष्य नेपालले १९ ओभर ५ बलमा ९ विकेट गुमाएर भेट्टायो।

नेपालका लागि साना प्रविनले सर्वाधिक १७ रन बनाइन्।

त्यसअघि, टस हारेर ब्याटिङ गरेको युगान्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७५ रन बनाएको थियो।

युगान्डाका लागि इमाकुलेट नाकिसुईले सर्वाधिक २२ रन जोडिन्।

नेपालका लागि पूजा महतोले ३ विकेट लिइन्।

त्यस्तै, कप्तान इन्दु बर्माले २ विकेट लिइन्।

नेपालको आफ्नो पहिलो खेलमा शनिबार नामिबियासँग ६ विकेटले पराजित भएको थियो।

घरेलु युगान्डाले हङकङलाई हराएको थियो।

श्रृंखलामा नेपाल, युगान्डा, नामिबिया र हङकङ छन्।

नेपालले भोलि (सोमबार) हङकङसँग खेल्नेछ।

सबै टोलीले लिग चरणमा एक–अर्कासँग समान २/२ खेल खेल्नेछन्।

त्यसैगरी, फागुन २८ गते नेपालले नामिबियासँग दोस्रो खेल खेल्नेछ।

फागुन २९ गते नेपालले युगान्डासँग दोस्रो खेल खेल्नेछ।

यस्तै, फागुन ३० गते नेपालले हङकङसँग दोस्रो खेल खेल्ने तालिका छ।

लिग चरणको खेलपछि शीर्ष २ टोलीबीच फाइनल हुनेछ।

फाइनल खेल चैत ३ गते हुनेछ।