मिर्मिरेमै उठ्यो । पोखरामा भएका सबै पत्रिकाका कार्यालय धायो । महेन्द्रपुलबाट राष्ट्रिय पत्रिका बटुलेपछि घरघरै डुल्छन् ।
पोखराको मुख्य बजार फन्को मार्नु ६२ वर्षीय ‘मोफसल हकर’ बालकृष्ण सुवेदीको दैनिकी हो । न्युरोड, सभागृहचोक, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुङ्गा, पन्थीगल्ली, देउराली गल्ली छिरेर पालिखेचोक हुँदै नदिपुरबाट फर्किएपछि बास्तोलाथरको सगरमाथा स्कूलसम्म पत्रिकाहरु लिएर पुग्छन् ।
पत्रिका बेचेर पालिएका उनीभन्दा पुराना मान्छे पोखरामा छैनन् । ४० वर्ष अघिदेखि पत्रिका बेच्न थालेका बालकृष्ण अहिले पनि उत्तिकै सकृय छन् । उनलाई पोखरामा चिनिने धेरै नामहरु छन् । पहिलेदेखि चिनेजानेकाहरुले ‘बालकृष्ण’ भनेर बोलाउँछन् । अलि पढेलेखेका चाहीँ ‘बालकृष्ण दाई’ भन्छन् । नयाँ युवा पुस्ताले बोलाउँदा उनको नाम ‘पत्रिका बाजे’ हो । जे नामले बोलाएपनि, ‘बालकृष्ण दाई’ भनिदिँदा आफूलाई प्यारो लाग्ने उनी सुनाउँछन् ।
गोरखापत्र बाजेको संंगतले २०३५ सालदेखि पोखरामा हकरको काम गर्दै आएको ‘बालकृष्ण दाई’ले बताए ।
‘पहिले घर बनाउने ठाउँमा सीमेन्ट र बालुवा घोल्थेँ । दिनभरि काम गर्दा दुई रुपैया ज्याला पाइन्थ्यो,’ बालकृष्णले विगत सम्झिए, ‘कहिलेकाहीँ फुर्सद हुँदा महेन्द्रपुलतिर बरालिन्थेँ । पोखरामा पत्रिका बेच्ने एक जनामात्रै थिए, गोरखापत्र बाजे । उनीसँगै सिकेर पत्रिका बेच्न थालेँ । गोरखापत्र बाजेपछि सबै भन्दा पुरानो हकर मै हुँ ।’
कमजोर आर्थिक परिवारमा जन्मे हुर्केका बालकृष्णले जागिर खाने गरी पढ्न सकेनन् । तीन कक्षा पढ्दै गर्दा पैसाले सारो पारेपछि हुत्तिएर पोखरा झरे उनी । गोरखापत्र बाजे पत्रिका च्यापेर महेन्द्रपुल डुल्थे । ‘बालकृष्ण दाई’ले शुरुमा अचम्म मानेर सोधे, यो के हो ? ‘अखबार’ हो गोरखापत्र बाजेको उत्तर हुन्थ्यो ।
‘त्यतिबेला, पोखराको बजार भनेकै महेन्द्रपुल बजार थियो । त्यतिबेलाको महेन्द्रपुलमा धान, च्युरा, पिठो कुट्ने काठका ढिकी भएको लहरै घरहरु भएको सानो बजार बसेको थियो । केही मान्द्रोले बेरेको भुँई तलाका मात्रै होटलहरु थिए । बेलुकीको खाना खाएको र बास बसेको १ रुपियाँ लाग्थ्यो । त्यतिबेलाको १ रुपियाँ, अहिलेको १ हजार भन्दा ठूलो हुन्थ्यो,’ उनले सम्झिए ।
त्यतिबेला, उनले महेन्द्रपुलबाट नदिपुर हुँदै बगर पीएन क्याम्पससम्म १ सय ३० प्रतिसम्म गोरखापत्र बेच्ने गरेको सुनाए । त्यो बेला पोखराबाट ‘हिमदूत’ र ‘साँचो कुरा’ पत्रिका मात्रै निस्कने गरेको उनको सम्झनामा छ ।
‘त्यतिबेला, महेन्द्रपुल र बगरबीचका केही कपडा पसलका साहुजी र पीएन क्याम्पसका मास्टरहरुले गोरखापत्र किनेर पढ््थे,’ उनले सुनाए, ‘मास्टरहरु पीएन क्याम्पसभित्रका क्वार्टरहरुमा बस्थे । मैले उनीहरुको क्वार्टरको ढोका ढोकामा गोरखापत्र पु¥याउँथे । गोरखापत्रको मूल्य त्यतिबेला २५ पैसा थियो । एउटा गोरखापत्रको कमिशन ५ पैसा आउँथ्यो ।’
स्याङ्जाको तत्कालीन सातुपसल पञ्चायत मुसीडाँडा गैरीपोखरीबाट कामको खोजीमा पोखरा झरेका थिए ‘बालकृष्ण दाई’ । आफ्नो गाउँबाट बाडखोला झरेर, नुवाकोट उक्लदै मट्टीखान, फोक्सिङ हुुँदै पोखराको छोरेपाटन निस्किएर पोखरा आइपुगेको उनले सम्झन्छन् । सिद्धार्थ राजमार्ग खुलेपनि स्याङ्जाका मानिसहरु हिँडेरै पोखरा आउने जाने गरेको उनले सुनाए ।
‘त्यतिबेला स्याङ्जाबाट मान्छेहरु हिँडेरै पोखरा आउँथे,’ उनले सम्झिए, ‘मोटरबाटोमा दुई चारवटा बसहरु खाली नै दौडन्थे । सरदारजीहरु बसका ड्राइवर हुन्थ्यो । मोटर भाडा चार रुपैयाँ थियो । मान्छेहरु खासै मोटर चढ्थेनन् । हिँडेरै पोखरा र स्याङ्जा आउ– जाउ गर्थे ।’
त्यो बेला छोरेपाटनबाट पार्दी विरौटा, ड्यासाइड, रत्नचोक, सिर्र्जनाचोक, आलु माइलाचोक, सिद्धार्थचोक, चिप्लेढुङ्गा हुँदै महेन्द्रपुल निस्किएको ‘बालकृष्ण दाई’लाई सम्झना छ । उनका अनुसार त्यतिबेला छोरेपाटनबाट पार्दी बिरौटा भएर सिधै अहिलेको जस्तो एअरपोर्ट, पृथ्वीचोक, नयाँबजार हुँदै महेन्द्रपुल निस्कने बाटो नै थिएन ।
त्यतिबेला महेन्द्रपुल अलावा पालिखेचोक, तेर्सापट्टी, गणेशटोल, रामकृष्ण टोल, भैरवटोल, बागबजार पोखराका मुख्य बजारहरु थिए । पूर्वतर्फ रानीपौवा र शितलादेवीसम्म लहरै घरहरु बसिसकेको थियो । अहिलेको रानीपौवाबाट गण्डकी हस्पिटल जाने बाटोमा ठूलो चौर थियो ।
उनका अनुसार त्यतिबेला अहिलेको गैरापाटन क्षेत्रमा मान्छेहरु हुँदैनथे । गाइवस्तुहरुको चरन क्षेत्र थियो गैरापाटनको क्षेत्र । अहिलेको न्युरोडमा खेतै खेत थियो । खेत रोप्न आकाशको पानीलाई कुर्नुपथ्र्यो । पानी परेपछि वर्षे भेललाई थुनेर अहिलेको न्युरोडमा खेतहरु रोपिन्थे ।
२०३८ सालसम्म उनले पोखरामा पत्रिका बेच्ने काम गरे । त्यसपछि उनी भारत हानिए । भारतको गुहावटी पुगेर दुध बेच्ने काममा लागे । दिनहुँ ५० लिटर दुधको खर्पन काँधमा राखेर भारतको गुहावटी बजारमा दुध बेचेको उनी सम्झन्छन् । गुहावटीमा दुध बेच्न हिँड्दा दुवै काँधमा घाउहरु भएको उनलाई सम्झना छ ।
०४२ को दशैं मान्न उनी भारतबाट घर फर्किए । घर फर्किदा भारतमा उनले कमाएको ७ सय रुपैयाँ थियो । त्यो पैसाले पर्वत कार्कीनेटाकी पवित्रा पौडेलसँग ‘बालकृष्ण दाइ’ले विवाह गरे । केही समय घर बसेर उनी फेरी पोखरा झरे । उही पुरानै पत्रिका बेच्ने काममा लागे ‘बालकृष्ण दाई’ ।
‘बालकृष्ण दाई’ का अनुसार त्यतिबेला, काठमाण्डौंबाट प्रकाशित गोरखापत्र र साप्ताहिक पत्रिकाहरु विमर्श, देशान्तर, पुनर्जागरण, नयाँ बाटो, आरती पत्रिकाहरु पोखरामा आउँथ्यो । त्यतिबेला गोरखापत्रको मूल्य ५० पैसा र अन्य साप्ताहिक पत्रिकाको मूल्य दुई/तीन रुपैयाँसम्म थियो । गोरखापत्रको १० पैसा र अन्य साप्ताहिक पत्रिकाको एक रुपैयाँसम्म कमिशन दिन्थ्यो ।
‘त्यो बेला विहान, बेलुकी पत्रिका बेच्ने र दिउँसो महेन्द्रपुलस्थित रामचन्द्र थापाको आइरन स्टोरमा फलाम जोख्ने काम गर्थे,’ उनले सुनाए, ‘त्यस पसलमा १ क्वीन्टल फलाम जोखेवापत ३ रुपैयाँ र सटरको सामान वक्र्ससपसम्म पु¥याइदिए वापत ४० रुपैयाँसम्म कमाइन्थ्यो । त्यतिबेला दैनिक ४ सय रुपैयाँसम्म कमाइयो ।’
पत्रिका बेचेर जीवनमा खासै उन्नती गर्न नसकेको तितो अनुभव ‘बालकृष्ण दाई’सँग छ । पहिले जस्तो अहिले पत्रिकाहरु विक्रि हुन छाडेको उनले बताए । पत्रिकै बेचेर खाने आफ्नो उमेर अवस्था अब नरहेकोमा ‘बालकृष्ण दाई’लाई अचेल चिन्ता परेको छ ।
उनी भन्छन्, ‘पत्रिकालाई मान्छेहरुले पहिले कति चिज गर्थे । अहिले त्यस्तो छैन । पत्रिकाहरु पनि धेरै बन्द भए । विक्रि हुनपनि छाड्यो । त्यतिबेला, बल, जाँगर थियो । कमार्ई पनि थियो । अहिले बल जाँगर पनि छैन । पत्रिका बेचेर पहिलेको जस्तो आम्दानी पनि छैन ।’
तस्वीर : सुदर्शन रञ्जित