सेनेगल र अल्जेरिया अफ्रिका नेसन्स कपको फाइनल भिड्दै

सेमीफाइनलमा ट्युनिसियालाई १–० ले हराउँदै हराउँदै सेनेगल फाइनल पुगेको हो भने दोस्रो सेमीफाइनलमा अल्जेरियाले नाइजेरियालाई २–१ गोलले हराउँदै फाइनल पुगेको हो

एजेन्सी
असार ३०, २०७६, सोमबार

अफ्रिका कप अफ नेसन्सको फाइनलमा सेनेगल र अल्जेरिया भिड्ने भएको छ ।

नेसन्स कपको पहिलो सेमीफाइनलमा ट्युनिसियालाई हराउँदै सेनेगल फाइनल पुगेको हो । दोस्रो सेमीफाइनलमा अल्जेरियाले नाइजेरियालाई २–१ गोलले हराउँदै फाइनल पुगेको हो ।

सेनेगललाई फाइनल पुग्न ट्युनिसियाले आत्मघाति गोलको उपहार दियो । अतिरिक्त समयमा ट्युनिसियाका डिफेन्डर दिलान ब्रोनले आफ्नै पोस्टमा बल छिराउँदा भाग्यले साथ दिएको सेनेगललाई फाइनल पुग्न सहयोग ग¥यो ।

निर्धारित समयमा दुबै टोलीले पेनाल्टीको अवसर पाएपनि दुबैको पेनाल्टी प्रहारलाई विपक्षी गोलकिपरले बचाउ गरे । अतिरिक्त समयमा साडियो मानेको फ्री–किक क्लियर गर्न खोज्दा हेड गर्दै ब्रोनले आफ्नै पोस्टमा गोल छिराएका थिए ।

पहिलो हाफको खेलमा ट्युनिसियालाई सेनेगलले दबाब राख्यो । पहिलो हाफमा सेनेगलले ट्यूनिसियाको पोष्टमा धेरै चार्ज गरेपनि सदुपयोग भने हुन सकेन । मानेले पाएको खुल्ला बललाई गोल गर्नबाट चुके ।

दोस्रो हाफमा ट्युनिसियाले सुधारिएको खेल खेल्यो । उसले पेनाल्टीको अवसर पनि पायो । सास्सीको फितलो पेनाल्टीलाई सेनेगलका कीपर अफ्रेड गोमिसले सहजै बचाउ गरे । लगत्तै चार मिनेटपछि सेनेगेलले पनि पेनाल्टी पायो । साइभेटको प्रहारलाई ट्युनिसियका कीपर हसनले बचाउ गरे ।

दोस्रो सेमीफाइनलको खेलमा रियाद महरेजको फ्री–किकमा अल्जेरिया अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश ग¥यो । खेलको अन्तिम समयमा म्यानचेष्टर सिटीका फरवार्ड महरेजले गोल गरेपछि सेमिफाइनलमा नाइजेरियालाई २–१ ले हराउँदै अल्जेरिया फाइनल पुग्यो ।

खेलको ४० औ मिनेटमा विलियम ट्रोस्ट इकोङको आत्मघाती गोलबाट अल्जेरियाले अग्रता बनाएको थियो । ७२ औ मिनेटमा ओडियन इग्लुले पेनाल्टीमा गोल गर्दै नाइजेरियालाई बराबरीमा फर्काए । बराबरीमै खेल भइराख्दा अन्तिम मिनेटमा महरेजले फ्री–किक मार्फत गोल गर्न सफल रहे । महरेजकै गोलबाट अल्जेरियालाई फाइनल यात्राको बाटो खुल्यो ।