बंगलादेश महिला क्रिकेटको फाइनलमा

फाइनल पुग्न नेपाललाई जित्नैपर्ने दवाव

जनसम्मत
मंसिर २०, २०७६, शुक्रबार

पोखरा । बंगलादेश १३ औं दक्षिण एशियाली खेकलुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको फाइनल प्रवेश गरेको छ ।

मालदिभ्सलाई २ सय ४९ रनको फराकिलो अन्तरले पराजित गर्दै बंगलादेशले फाइनलमा स्थान पक्का गरेको हो ।

बिहीबार पोखरा रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको बंगलादेशले पूरा २० ओभर खेल्दै २ विकेटको क्षतिमा २ सय ५५ रनको विशाल योगफल तयार पारेको थियो । बंगलादेशका दुई खेलाडीले शतक प्रहार गरे ।

‘प्लेयर अफ द म्याच’ निगार सुल्तानले अविजित १ सय १३ तथा फरगंगा हकले अविजित १ सय १० रन जोडेका थिए । ६५ बलको सामना गरेकी सुल्तानले ३ छक्का र १४ चौका प्रहार गरिन् । विस्फोटक व्याटिङ गरेकी फरगंगाले मात्रै ५३ बलमा २० चौका प्रहार गरेकी थिइन् । मालदिभ्सको बलिङमा समा अलीले १ विकेट लिइन् । बंगलादेशका समिमा सुल्तान रन आउट बनेकी थिइन् ।

जितका लागि २ सय ५६ रनको लक्ष्य पछ्याएको मालदिभ्सको पारी मात्रै ६ रनमा समेटियो । मालदिभ्सका समा अलीले २ तथा स्माइस र अतिमाथले १–१ रन मात्रै बनाए । दुई रन अतिरिक्त रनका रुपमा पाए । बंगलादेशको बलिङमा रितु मोनी र सलमान खातुनले समान ३ विकेट लिए । रबेया खान र पुजा चक्रवर्तीले पनि समान १ विकेट लिए ।

यससँगै राउण्ड रोबिनका पूरै ३ खेलमा जित हासिल गरेको बंगलादेश शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो । बंंगलादेशले पहिलो खेलमा श्रीलंकालाई ७ विकेटले तथा दोश्रो खेलमा नेपाललाई १० विकेटले पराजित गरेको थियो ।

फाइनल पुग्नका लागि अब नेपाललका लागि श्रीलंकाविरुद्ध शुक्रबार हुने खेल जित्नै पर्ने दवावमा परेको छ । राउण्ड रोविनमा नेपाल र श्रीलंका दुवैले १ खेलमा जित तथा १ खेलमा पराजय ब्यहोर्दै समान समान २ अंक जोडेका छन् । नेपाल र श्रीलंका दुवैले मालदिभ्सलाई पराजित गरेर आ–आफ्नो खातामा समान २ अंक जोडेका हुन् । तर, नेट रनरेटको आधारमा नेपाल लिगको दोश्रो स्थानमा रहेको छ ।