नेपाल भारोत्तोलन संघको अध्यक्षमा राम श्रेष्ठ ‘बोस’

संघको सम्पन्न चुनावी साधारणसभाबाट श्रेष्ठले प्रतिद्वन्दी बिजेन्द्रबिक्रम शाहलाई २ मत अन्तरले पराजित गर्दै ४ बर्षका लागि संघको नयाँ अध्यक्षमा निर्वाचित भएका हुन्, श्रेष्ठले ३० मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी शाहले २८ मत पाए

जनसम्मत
माघ २०, २०७६, सोमबार

पोखरा । नेपाल भारोत्तोलन संघको अध्यक्षमा रामकृष्ण श्रेष्ठ ‘बोस’ निर्वाचित भएका छन् ।

संघको सम्पन्न चुनावी साधारणसभाबाट श्रेष्ठले प्रतिद्वन्दी बिजेन्द्रबिक्रम शाहलाई २ मत अन्तरले पराजित गर्दै ४ बर्षका लागि संघको नयाँ अध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठले ३० मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी शाहले २८ मत पाए ।

श्रेष्ठ, यसअघि संघको उपाध्यक्ष थिए । संघका पूर्व अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका कोषाध्यक्ष रतनकुमार टण्डनले संघको नेतृत्व त्याग्ने भएपछि संघको चुनावमा सरगर्मी बढेको थियो । संघको ५ उपाध्यक्ष, महासचिव, सह–सचिव र कोषाध्यक्ष भने निर्विरोध निर्वाचित भएका छन् ।

संघको उपाध्यक्षमा पार्थसारथी सेन गुप्त, जगदीश प्रधान, समसुद्दिन सिद्धिकी, राजनकुमार बड्गामी र रुकेश तण्डुकार निर्विरोध निर्वाचित भएका छन् । यस्तै, महासचिवमा तिलकबहादुर राउत, सह–सचिवमा रामेश्वर श्रेष्ठ र कोषाध्यक्षमा रुद्रबहादुर न्यौपाने चयन भएका छन् । सचिवमा कुमारमान श्रेष्ठ निर्वाचित भएका छन् । उनले ३३ मत पाउँदा उनका प्रतिद्वन्द्वी विपेन्द्र महर्जनले २४ मत प्राप्त गरे ।

संघको १० सदस्यका लागि भएको मतदानमा सदस्यमध्ये गीता श्रेष्ठ निर्विरोध निर्वाचित भएकी छन् । उनी महिलातर्फको सदस्यका लागि निर्विरोध निर्वाचित भएकी हुन् । अन्य सदस्यहरुमा शिवनारायण चौधरी ५१, गोपालबहादुर श्रेष्ठ ५०, रत्नमान माली ४४, महेशप्रसाद यादव ४३, शत्रुघन यादव ३९, दीपेन्द्रकुमार ठाकुर ३६, प्रेमकुमार कौशल ३६, राजेन्द्र प्रधान ३५ र अजय शाहीले ३४ मत ल्याउँदै निर्वाचित भए । अजय र उमेश सिकेको ३४/३४ मत प्राप्त भएकोमा गोला प्रथाबाट अजयले सदस्यमा बाजी मारेका छन् ।

सदस्यतर्फ १० स्थानका लागि १५ जनाको उम्मेदवारी परेको थियो । संघको कार्यकाल ४ वर्षको हुनेछ । पराजित अन्य सदस्यका उम्मेदवारहरुमध्ये सानुकुमार महर्जन २८, लिलाराम पौडेल २६, कुलाराम थारु २४ र प्रधुम्न भारीेले २३ मत प्राप्त गरे । साधारण सभामा २३ कार्य समिति सदस्य, ३ प्राविधिक, १ ओलम्पियन र २१ जिल्लाका ४२ गरी ६९ प्रतिनिधिहरुमध्येबाट ६० मत मात्रै खसेको थियो । जसमा २ मत बदर भएको थियो ।

विजयी पदाधीकारीहरुलाई प्रमुख निर्वाचन अधिकृत राखेप खेलकुद विकास विभाग प्रमुख डेमबहादुर बस्नेतले पद तथा गोपनीयताको सपथका साथै प्रमाणपत्र वितरण गरे । राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले उद्घाटन गरेको निर्वाचन कार्यक्रममा ओलम्पिक कमिटिका तर्फबाट कमिटि सचिव एवं जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले प्रतिनिधित्व गरेका थिए ।

तस्बीर : दामोदर अर्याल