तारा एअरको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये १० जनाको शव काठमाण्डौं लगिएको छ।
नेपाली सेनाको हेलीकोप्टरबाट पोखरा हुँदै १० जनाको शब काठमाडौं लगिएको हो।
यसअघि, सुरक्षाकर्मीको टोलीले दुर्घटनास्थलबाट १० जनाको शव मुस्ताङको कोबाङसम्म बोकेर ल्याएका थिए। कोबाङबाट सेनाको हलिकोप्टरमार्फत् शव पोखरा ल्याइएको थियो। पोखराबाट शव काठमाडौं लगिएएको हो।
काठमाडौं लगिएका शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ।
१९ जना यात्रु र ३ जना चालक दलका सदस्यसहित विमानमा २२ जना सवार रहेकामा सोमबार साँझसम्म २१ जनाको शव भेटिएको छ।
आइतबार पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको नाइन एनएईटी ट्विनअटर जहाज उडान भरेको केही मिनेटपछि सम्पर्कविहीन भएको थियो। खोजीका क्रममा सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२, सानुसरेको पहाडमा दुर्घटना भएको जहाज भेटिएको थियो।
पोखराबाट आइतबार बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको उक्त विमान १०ः७ बजेपछि सम्पर्कविहीन भएको थिया। ५ वटा हेलिकोप्टरले आइतबार दिनभर खोजी गर्दा पनि फेला नपरेपछि सोमबार बिहानै खोजी सुरु गर्दा दुर्घटनाग्रस्त जहाज भेटिएको थियो।