पोखरा महानगरपालिकाले ३ महिनाभित्र महानगरभित्रका सबै घर कम्पाउडमा विरुवा रोप्न नगरवासीलाई अनिवार्य गरेको छ।
महानगरका मेयर धनराज अचार्यले अबको ३ महिनाभित्र प्रत्येक घरमा विरुवा रोप्ने घोषणा गरे। विश्व वातावरण दिवशको सन्दर्भ पारेर उनले यस्तो घोषणा गरेका हुन्।
आइतवार ५० औं विश्व वातावरण दिवशको अवसरमा महानगरपालिकाले आयोजना गरेको बृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘एक घर, एक बृक्षारोपण’ कार्यक्रमका लागि महानगरले नै आवश्यक विरुवा उपलब्ध गराउने समेत जानकारी दिए। त्यसका लागि वातावरण शाखाले तयारी अगाडि बढाउने उनले बताएका छन्।
केही वर्ष अगाडि सेती नदिमा आएको अप्रत्यासित बाढी, गतवर्ष मनाङ र मादीमा आएको वाढीको स्मरण गर्दै उनले वातावरणीय सन्तुलन कायमका लागि बृक्षारोपण अनिवार्य रहेको धारणा राखे। उनले सानो क्षेत्रफलमा बनेका घरमा समेत अक्सिजन दिनेखालका सानातिना विरुवा भएपनि रोप्न नगरवासीलाई आग्रह गरेका छन्।
पोखरामा विगतमा प्रशस्त मात्रामा रहेका पोखरी, चौतारा र बर पिपल मासिएका उल्लेख गर्दै उनले सडकका किनारामा कस्तो विरुवा रोप्ने भन्ने विषयमा सरोकारवाला पक्षसँग बसेर निस्कर्षमा पुगिने बताए।
‘विगतमा पोखरामा प्रशस्त पोखरीहरु थिए। चौताराहरु थिए। प्रशस्त बर पिपलका विरुवाहरु थिए, ति सबै मासिए,’ उनले भने, ‘अब जे जति जोगिएको छ, त्यसको संरक्षण गर्ने र सडक छेउमा कस्ता उपयोगी विरुवा रोप्ने भन्ने विषयमा सरोकारवाला विज्ञसँग बसेर निर्णय गर्ने छौं। अनि पोखरालाई नारा अनुसारको स्वच्छ हराभरा सुन्दर पोखरा व्यवहारमै बनाउने छौं।’
मेयर आचार्यले खाली जमीनमा बृक्षारोपण कार्यक्रम गर्न पोखरास्थित संपूर्ण संघसंस्थाहरुलाई आग्रह समेत गरेका छन्। बृक्षारोपणका लागि बृक्षारोपण मात्र नभएर त्यसको संरक्षण हुनुपर्नेमा जोड दिँदै उनले आफूले रोपेका विरुवाको संरक्षण पनि सम्बन्धित संस्थाले नै गर्नुपर्ने बताए।
सरकारले निजी जमीनमा रोपिएका रुख कटानको सन्दर्मभा लिएको निर्णयले आम नागरिकलाई आम्दानी दिने विरुवा रोपेर आय–अर्जन गर्ने बाटो खोलिदिएको धारणा राख्दै उनले बृक्षारोपण गरेर यसको फाइदा लिन समेत आग्रह गरे।
मेयर आचार्यले पोखरा–२४ मा रहेको ठूलीपोखरी (कश्यप ताल)को संरक्षणका लागि महानगरको तर्फबाट समेत योगदान रहने बताए। वडाको समग्र विकासका लागि वडाध्यक्ष र निर्वाचित जनप्रतिनिधिसँग बसेरै योजना बनाउने उनले आश्वासन दिए।
महानगरले आयोजना गरेको बृक्षारोपण कार्यक्रममा मेयर आचार्य, प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालसहित जनप्रतिनिधि, महानगरका कर्मचारी र स्थानीयहरुको सहभागिता थियो।
पोखरा महानगरपालिका–२४ को कार्यालय र कश्यप ताल परिसरमा विश्व वातावरण दिवसको अवसर पारेर बृक्षारोपण गरिएको हो। वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीका अनुसार विभिन्न प्रजातिका २ सय भन्दा धेरै विरुवा रोपिएको छ।
वडाध्यक्ष अधिकारीले बोल्दै अहिले वडावासी दाजुभाई दिदिबहिनी डोकोमा गाग्री बोकेर कहाँ पानी पाइन्छ भनेर धाउनुपर्ने अवस्था रहेको जानकारी दिए। यसको अन्त्यका लागि लिफ्टिङ खानेपानी आयोजना छिट्टै सम्पन्न गरेर नगरवासीलाई खानेपानी उपलब्ध गराउने काममा आफूहरु लागि पर्ने बताए।