बाजुराको बुढीगंगा नगरपालिकामा मतदान सुरु

जनसम्मत
असार २३, २०७९, बिहीवार

बाजुराको बुढीगंगा नगरपालिकामा मतदान सुरु हुँदैछ।

गत वैशाख ३० गते भएको निर्वाचन विवादपछि त्यसलाई रद्द गरिएको थियो।

बिहान ७ बजेदेखि मतदान सुरु भएको छ। बुढीगंगा नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन्। यस्तै उपमेयरमा कांग्रेसबाट रीता शाही र एमालेबाट मायाकुमारी खड्का उम्मेदवार छन्।

निर्वाचनलाई स्वच्छ वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। १० वटा मतदानस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षक (इन्सपेक्टर)को नेतृत्वको टोली खटाइएको छ।

गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो। निर्वाचन आयोगले गरेको स्थलगत अध्ययनले पुनःनिर्वाचन गर्ने निष्कर्ष निकालेको थियो।

निर्वाचन पुनः हुनुपर्ने माग गर्दै अदालतमा मुद्दासमेत परेको थियो। पछि सर्वदलीय सहमतिका आधारमा पुनः निर्वाचनको मिति तय गरिएको थियो।

बुढीगंगाका केही वडाहरुमा काँग्रेस र एमालेका कार्यकर्ताहरुले बुथ कब्जा गरेर मतदान गरेको आरोप लागेपछि मतगणना हुन सकेको थिएन।