पर्यटकको गन्तव्य र बसाई बढाउन महानगर र होटल संघ एकमत

जनसम्मत
श्रावण ४, २०७९, बुधबार

पर्यटकको बसाई अवधि लम्ब्याउन सहकार्य गरेर अगाडि बढ्ने विषयमा पोखरा महानगरपालिका र होटल संघ पोखरा नेपाल एकमत देखिएका छन्।

नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान र विकास गर्दै पोखरा र वरपरका पर्यटकीय क्षेत्रको भ्रमणमा आउने पर्यटकहरुका लागि महानगर र होटल संघ एक मत देखिएका हुन्।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वागातार्थ संघले पोखरामा आयोजना गरेको कार्यक्रममा होटल संघका पदाधिकारी तथा सल्लाहकारले पर्यटन क्षेत्रको अवस्था र सुधारका लागि सुझावहरु राखेका थिए।

महानगर प्रमुख आचार्यले भनाई राख्दै यसअघिका बजेटमा पर्यटन क्षेत्रका लागि १/२ करोड रुपैयाँ मात्र बजेट विनियोजन हुँदै आएकोमा चालू बजेटमा ५८ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए।

विशेष गरी सडकमार्गको विकास र अन्य कारणले समेत पोखरा र वरपरका कतिपय पर्यटकीय गन्तव्य मासिंदै गएको स्मरण गराए। उनले नयाँ गन्तव्यहरुको खोजी गरिनुपर्ने र पोखरा भ्रमणमा आउने पर्यटकको बसाई २ दिनबाट बढाएर ५ दिनको बनाउने वातावरण तयार गरिनुपर्ने बताए। धार्मिक तथा खेल पर्यटनको विकास र विदेशबाट सन्तहरु बोलाएर सम्मेलन गर्ने विषयमा समेत महानगर र व्यवसायी मिलेर अगाडि बढ्न सकिने उनको भनाई थियो।

पर्यटकीय लेकसाइड लगायत सिंगो पोखराको सुरक्षा, यहाँको पार्किङ व्यवस्थापन, ट्याक्सीहरुलाई मिटरमा चलाउने विषय, प्रदूषण नियन्त्रण र फोहोर व्यवस्थापनको विषयमा समेत महानगर सचेत रहेको उनले उल्लेख गरे। पोखरा महानगरभित्र सानो रिङरोड छुट्याएर त्यसको ब्युटिफिकेसन गर्ने तथा ट्राफिक लाइट र सीसी क्यामेराको व्यवस्थाका लागि समेत महानगरले काम अगाडि बढाउने उनले बताए।

संघका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरा आउने पर्यटकमध्ये ४० प्रतिशत हिस्सा आन्तरिक पर्यटकको रहेको जानकारी दिए। कोभिडका कारण पर्यटन क्षेत्रका हजारौं मजदूर र व्यवसायी विस्थापित हुन पुगेको उल्लेख गरे। पछिल्लो क्रममा पोखरा आउने पर्यटक संख्या पुन: घट्न पुगेपनि आगामी सेप्टेम्बर महिनादेखि त्यस्तो संख्यामा बढोत्तरी आउनेमा आफूहरु आसावादी रहेको उनको भनाई थियो। पोखरामा नयाँ गन्तव्य, पर्यटक संख्या र उनीहरुको बसाई अवधि बढाउन संघ महानगरसँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको प्रतिबद्धता जनाए।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सदस्य एवं संघका सल्लाहकार विश्वशंकर पालिखे, होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरि शर्मा गैह्रे, हानका सदस्य एवं होटल संघ पोखरा नेपालका सल्लाहकार भरतराज पराजुली, संघका द्वितीय उपाध्यक्ष गणेशराज पहारी, संघकी सदस्य पम्फा पहारी, हानका केन्द्रीय सदस्य विप्लव पौडेल र नेपाल पर्यटन बोर्डका पूर्व सदस्य एवं पर्यटनविद् वासु त्रिपाठीले आ–आफ्ना सुझाव राखेका थिए। संघका महासचिव राजेन्द्र ढकालले कार्यक्रमको संचालन गरेका थिए।