अन्तर्घाती काँग्रेसलाई कारवाही गर्न नेतृ गिरीको उजुरी

जनसम्मत
भाद्र १३, २०७९, सोमबार

गत वैशाख ३० को स्थानीय चुनावमा पोखरा–८ बाट वडाध्यक्ष पदमा काँग्रेसकी उम्मेदवार शारदा गिरीले पार्टीभित्रका अन्तर्घातीहरुलाई कारवाही गर्न पार्टीसमक्ष माग गरेकी छन्।

महाधिवेशन प्रतिनिधि एवं गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापा, महाधिवेशन प्रतिनिधि वीरेन्द्रनारायण विजुक्छे, निवर्तमान इकाई सभापति सुभाष सिग्देल, वर्तमान इकाई रमेशप्रसाद बराल, क्षत्रीय प्रतिनिधि गीता पंगेनी पौडेलसम्मलाई कारवाहीका लागि उजुरी दिएकी हुन्।

उनीहरुलाई पार्टीको नीति विपरित अन्तर्घात गरेको, आचारण र अनुशासनहीन काम गरेकाले अविलम्ब स्पष्टिकरण सोधेर कारवाही गर्न पार्टीको केन्द्रीय समितिसँग गिरीले उजुरी दिएकी हुन्।

स्थानीय चुनावमा पार्टीकै जिम्मेवारप्राप्त व्यक्तिहरुबाट आफूमाथि अन्तर्घात भएको भन्दै गिरीले काँग्रेस केन्द्रीय समिति र सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै कारवाहीका लागि उजुरी दिएकी हुन्।

नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमिति, नेपाली काँग्रेस कास्की जिल्ला कार्यसमिति, नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति, नेपाली काँग्रेस पोखरा महानगर कार्यसमितिलाई समेत बोधार्थका रुपमा गिरीले उजुरी हालेकी हुन्।

गत वैशाख ३० को स्थानीय निर्वाचनमा पोखरा महानगरपालिका वडा नं ८ को वडाध्यक्ष पदमा नेपाली काँग्रेसकी आधिकारिक उम्मेदवार आफूले पार्टीभित्रका अन्तर्घातका कारण पराजय भोगेको मागपत्रमा स्मरण गराएकी छन्।

चुनाव सकिएको ४ महिना सकिदापनि आजसम्म चुनावको समीक्षा नगरिएको गिरीको आरोप छ।

‘आउँदो मंसीर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा भइसकेको अवस्था छ,’ गिरीले उजुरीपत्रमा भनेकी छन्, ‘नेपाली काँग्रेस पोखरा महानगर–८ को पार्टी कार्यालयमा चुनावका विषयलाई लिएर समीक्षा बैठक आफ्ना कुरा राख्न बराबर माग राख्दापनि काँग्रेस पार्टी कार्यालयले कानमा नसुनेका कारण यो उजुर दिन बाध्य छु।’

स्थानीय निर्वाचनमा आफूलाई नै पार्टीले टिकट दिएर आधिकारिक उम्मेदवार बनाएको स्मरण गराएकी छन्।

पार्टीका स्वघोषित वरिष्ठ भनाउँदा वडा नं ८ का काँग्रेसीजनबाट नेपाली काँग्रेसका साख गिराउने र विपक्षी दलका उम्मेदवारलाई सूर्य चिन्हमा मत दिएर आफूलाई ६१६ मतले हराउन अन्तर्घाती भूमिका खेलेको गिरीको आरोप छ।

उनले उजुरी पत्रमा भनेकी छन्, ‘राष्ट्रिय, लोकतन्त्र र समाजवादका लागि सात दशकदेखि नेपाली काँग्रेस पार्टीले आब्हान गरेको पटक–पटकको आन्दोलनमा सक्रियतापूर्वक सहभागिता जनाएँ, जनआन्दोलनका क्रममा घाइते भएँ, तर पनि पार्टीले दिएको जिम्मेवारी नेपाली महिला संघ क्षेत्रीय सभापति क्षेत्र नं २, नेपाल महिला संघ पोखरा–८ को सभापति साथै सामाजिक संघसंस्था र विभिन्न विद्यालयको व्यवस्थापन समितिमा रहेर निरन्तर पार्टीको बफादार सिपाहीका रुपमा काम गरिरहेको छु।’

हेर्नुहोस, गिरीको उजुरीपत्र