पोखरा–६ का ६४ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जाको निस्सा वितरण गरिएको छ।
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र उप प्रमुख मन्जुदेबी गुरुङले संयुक्त रूपमा उनीहरूलाई निस्सा वितरण गरेका हुन्।
प्रमुख अतिथि महानगर प्रमुख आचार्यले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले प्राप्त गरेको निस्सा लालपुर्जाअघिको लालपुर्जा नै भएको बताए।
‘यो सरकारी छाप लगाएको लालपुर्जा पाउनु अगाडिको लालपुर्जा नै हो,’ उनले भने, ‘यो निस्सा नपाउनेले लालपुर्जा पाउदैनन्।’
उनले लालपुर्जा वितरण प्रक्रियामा रहेको र छिट्टै वितरण गरिने आश्वासन दिए ।
उप प्रमुख मन्जुदेबीले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई हाल बसिरहेको स्थानमा कुनै समस्या नभएसोही स्थानमा, यदि त्यो स्थान उपयुक्त नभए अर्को उपयुक्त स्थानको खोजी गरी बसोबासको व्यवस्था गरिने बताइन्।
राष्ट्रिय भूमि आयोग कास्की अध्यक्ष गंगा पोख्रेलले कतिपयले यो निस्सा केही होइन भनेर भ्रम छर्न खोजेको भन्दै महत्वमाथि खेलबाड नगर्न सचेत गराए। भोलि जग्गा प्राप्तिसम्मको अन्तिम प्रक्रियामा समेत यो निस्साको महत्वपूर्ण भूमिका रहने उनले उल्लेख गरे।
पोखरा–६ का वडाध्यक्ष बिष्णुबहादुर भट्टराईले वडामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्दै अगाडि बढ्ने प्रतिबद्धता गरे।
भट्टराईले सुकुम्बासीलाई फेवाताल आसपासमा नभई छिमेकी वडामा ब्यवस्थापन गरिने बताए।
उनले पोखरा ६ मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथाअव्यवस्थित बसोबासीको संख्या कुल ६९ रहेकोमा प्राबिधिक कारणवश ५ जनाको मात्र बाँकी रहेको जानकारी दिए।