नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी टुर प्रदेश नं. १ को विराटनगरमा पुगेको छ।
विराटनगरस्थित सहिद रंगशालामा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले ट्रफी प्रदर्शन गरे।
नवौँ संस्करण गण्डकी प्रदेशमा २८ असोजदेखि ३ कात्तिकसम्म सञ्चालन हुँदैछ। त्यसअघि, राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पहिलोपटक ट्रफी टुर आयोजना गरेको हो। प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंसराज वाग्लेले ३५ खेलमा ७ सय ६ खेलाडी तथा प्रशिक्षक र व्यवस्थापक गरी ८ सय २० जनाको सहभागिता रहने जानकारी दिए। उनका अनुसार प्रदेश छनोटमा ४ हजार १ सय ५२ खेलाडीको सहभागिता थियो।
यसअघि, ट्रफीलाई सुदूरपश्चिमको धनगढी, लुम्बिनी प्रदेशको लुम्बिनी र बुटवल, बागमती प्रदेशको हेटौँडा, नेपाली सेना र नेपाल प्रहरीको मुख्यालयमा प्रदर्शन गरिएको थियो। नवौँ राष्ट्रिय खेलकुदमा ७ प्रदेश, ३ विभागीय टोली र एनआरएनए गरी ११ टोली सहभागी हुनेछन्।