गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला हक्की प्रतियोगितामा गण्डकी प्रदेशले बिजयी सुरुवात गरेको छ।
गण्डकी बोर्डिङ स्कुल लामौचौर पोखराको मैदानमा विहीबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकीले प्रदेश–१ लाई ७–० अन्तरले पराजित गर्दै बिजयी शुरुवात गरेको हो।
गण्डकीका तर्फबाट सोनु बरालले १३ औं मिनेटमा खाता खोलेकी थिइन्। त्यसको २ मिनेटपछि नै सबिना पुनरानाले गोल गर्दै अग्रता दोब्बर पारिन्।
गण्डकीले दोस्रो हाफमा थप आक्रामक खेल्दै २ गोल थप्यो। खेलको १७ औं र २६ मिनेटमा कमला पुनले गोल गर्दै गण्डकीका लागि स्कोर बढाइन्।
त्यस्तै, खेलको तेस्रो क्वाटरमा गण्डकीले थप २ स्कोर बढायो। खेलको ३४ औं मिनेटमा सोनु बरालले अर्को गोल गरिन् भने कमलाले ४२ औं मिनेटमा व्यक्तिगत तेस्रो गोल थपिन्।
अन्तिम क्वाटरमा गण्डकीको तर्फबाट दीपशिखा पौडेलले ५५ औं मिनेटमा चौथो गोल थपिन्।
यसअघि, उद्घाटन खेल वागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुने भनिएपनि जर्सी नआइपुगेपछि गण्डकी र प्रदेश–१ बीच प्रतिस्पर्धा गराइएको थियो।
दोस्रो खेलमा बागमती र सुदुरपश्चिम अहिले खेलिरहेका छन्। ७ टिमको सहभागिता रहेको प्रतियोगितामा दैनिक २ खेल हुनेछ।