सकियो गोरखा बजारमा आयोजित एकहप्ते एड्भान्स कुकिङ तालिम

जनसम्मत
मंसिर १६, २०७९, शुक्रबार

गोरखा जिल्लाको गोरखा बजारमा आयोजित एकहप्ते एड्भान्स कुकिङ तालिम सकिएको छ।

तालिममा सहभागी सबैलाई हालैमात्र प्रमाणपत्र वितरण गरिएको छ।

होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रे, होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीलगायतका अतिथिले तालिमका ४० सहभागीलाई प्रमाणपत्र वितरण गरे।

होटल संघ नेपालको आयोजना तथा संघको गण्डकी र गोरखा शाखाको समन्वयमा संचालित तालिमलाई युएनडीपी अन्तर्गतको सस्टेन्एबल टुरिजम फर लाइभ्लीहुड रिकभरी प्रोजेक्टले सघाएको हो।

होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले पर्यटनलाई अगाडि बढाउन सीप, दक्षता र सकारात्मक सोंचको आबश्यकता पर्ने बताउँदै यसका लागि तालिमले सघाउ पुगेको बताए।

‘छोटो तयारीमा पनि होटल संघ गोरखाले तालिम संचालन गरेको छ,’ उनले भने, ‘आगामी दिनमा यसप्रकारका तालिम गण्डकीका ११ वटै जिल्लामा संचालन गर्ने योजना छ। तालिम सम्पन्न गरेका सहभागीलाई आबश्यक परे रोजगारी प्रदान गर्न संघले पहल गर्नेछ।’

होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले सिकाई भन्ने विषय सधैं अपुरो नै रहने बताए। जिल्लामा सम्पन्न तालिम सिकाईको सुरुवात भएको उनको भनाई थियो। तालिमले रोजगारीमा समेत टेवा दिई विदेश जान खोज्ने जनशक्तिलाई स्वदेशमा नै रोक्न सहयोग पुग्ने बताए।

पोखराको पर्यटनका लागि १५ हजार जनशक्ति आबश्यक पर्नेमा १० हजार श्रमशक्ति कोभिडलगायत विविध कारणले पलायन हुँदा समस्या परेको तथ्यांक पनि उनले दिए।

होटल संघ नेपाल गोरखाका अध्यक्ष एवं गण्डकीका सचिव मानप्रसाद धितालले रैथाने खानालाई पनि मिठो गरी पकाउन र आन्तरिक पर्यटनलाई जिल्लामा आकर्षित गर्न तालिमले सघाउ पुग्ने विश्वास व्यक्त गरे। तालिमका सहभागी, अतिथि एवं प्रमुख अतिथिलाई उनले धन्यवाद ज्ञापन गरे। होटल संघ नेपाल गण्डकीका सदस्य एवं तनहुँका अध्यक्ष जीवन साहीले पनि कार्यक्रममा आफ्नो भनाई राखे।

तालिमको प्रमुख प्रशिक्षकमा श्याम तामाङ र अर्का प्रशिक्षक एवं आलिदेखि थालीसम्मका अभियन्ता लक्ष्मण भण्डारी थिए। सहभागीहरुका तर्फबाट राजु गुरुङ र शर्मिला गुरुङले आफ्ना अनुभव सुनाए। तालिमकी सहभागी शर्मिला वाग्ले आचार्यले कार्यक्रम संचालन गरेकी थिइन्।