विश्वकप फुटबल: रोमाञ्चक जितसँगै स्विट्जरल्यान्ड अन्तिम–१६ मा

जनसम्मत
पौष ५, २०७९, मंगलवार

समूह ‘जी’ को अन्तिम खेलमा सर्वियामाथि ३–२ को विजय हासिल गर्दै स्विट्जरल्यान्डले शुक्रबार राति कतार विश्वकपको अन्तिम–१६ मा स्थान पक्का गरेको छ।

सर्वियासँग पराजित भएको भए स्विट्जरल्यान्ड प्रतियोगिताबाट बाहिरिने थियो।

बराबरी खेलेको भएपनि क्यामरुन र ब्राजिलको नतिजा कुर्नुपर्ने थियो।

रोमाञ्चक सो खेलको पहिलो हाफमै ४ गोल भएको थियो। स्विट्जरल्यान्डले जर्दान साकिरीको गोलबाट २० औँ मिनेटमा अग्रता लिएको थियो।

२६ औँ मिनेटमा सर्वियाका एलेक्जेन्डर मित्रोभिकले बराबरी गोल फर्काए।

३५ औँ मिनेटमा डुसान भ्लाहोभिकले गरेको गोलबाट सर्वियाले अग्रता लियो।

४४औँ मिनेटमा स्विट्जरल्यान्डका ब्रेल इम्बोलोले बराबरी गोल फर्काए ।

दोस्रो हाफको सुरुमै रेमो फ्रेउलर अर्को गोल थपे।

४८ औँ मिनेटमा फ्रेउलरले गरेको गोल स्विट्जरल्यान्डलाई अन्तिम–१६ मा स्थान बनाउन पर्याप्त बन्यो।

जितसँगै समूह ‘जी’ मा स्विटरल्यान्ड र ब्राजिलको समान ६ अंक छ।

तर, गोलअन्तरमा ब्राजिल समूह विजेता बन्दा स्विट्जरल्यान्ड उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनायो।

उपविजेता स्विट्जरल्यान्डले समूह ‘एच’ को विजेता पोर्चुगलविरुद्ध खेल्नेछ।

विजेता ब्राजिलले अब अन्तिम–१६ मा समूह ‘एच’ को उपविजेता दक्षिण कोरियाविरुद्ध खेल्नेछ।